स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छः राष्ट्रपति पौडेल

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाध स्वतन्त्रता प्रदान गरेपनि स्वतन्त्रताका नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य निषेधित भएको बताउनुभएको छ।

सार्वजनिक सेवा प्रसारण संस्था, रेडियो नेपालको हीरक महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने बताउँदै संविधानको व्यवस्था, मर्म र भावना कसैले भुल्न नहुने स्पष्ट पार्नुभयो।

नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाध स्वतन्त्रता प्रदान गरेको र स्वतन्त्रताको नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य सर्वदा निषेधित भएको बातउनुभयो । यस्ता प्रकृतिका घटना हुन नदिन सबै गम्भीर बन्नुहुनेछ भन्ने विश्वास लिएको उहाँले जिकिर गर्नुभयो ।

राष्ट्रपति पौडेलले संविधान प्रदत्त अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्षा गरेको लोकतान्त्रिक संस्कृति र संस्कार बसैले पनि बिर्सन नहुने धारणा राख्नुभयो । लामो सङ्घर्ष, त्याग र बलिदानबाट जनता आफैँले बनाएको संविधानले प्रत्येक नागरिकलाई आफ्नो असहमति राख्ने अधिकार प्रदान गरेको र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यो सर्वाधिक सुन्दर पक्ष रहेको तर, संविधानले प्रदान गरेको यो अधिकार प्रयोग गरिरहँदा राज्य, कानुन र जनताप्रति जिम्मेवार पनि हुनु जरुरी रहेको उहाँले बातउनुभयो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकार र सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको जनाउँदै राष्ट्रपति पौडेलले सञ्चार जगत्को यो महत्त्वपूर्ण र गम्भीर जिम्मेवारीलाई बोध गरेर संविधानमा पूर्णप्रेस स्वतन्त्रताको सुनिश्चित गरिएको बताउनुभयो । उहाँले आफू र आफ्ना पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको जनाउँदै समाचार र कैयन शिक्षा, जनचेतना, मनोरञ्जनात्मकलगायत कार्यक्रम आफ्नो स्मृतिमा आज पनि मिठो सम्झना बनेर झञ्कृत भइरहेका उल्लेख गर्नुभयो।

राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनासँगै मुलुकमा आमसञ्चारमाध्यमको विकास र विस्तारले गति लिएको उल्लेख गर्दै संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न रेडियो नेपालले नेपाली समाजको समावेशी चरित्रको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो।

उहाँले सबै जातजाति, भाषाभाषीको अधिकार संरक्षण गर्ने बहुलवादमा आधारित लोकतन्त्रको सुदृढीकरणलाई आफ्नो धर्म मानेर काम गर्दा संस्थाले लिएका लक्ष्य पूरा हुने उल्लेख गर्दै सञ्चारमाध्यम विपद्का बेला आमनागरिकको भरोसाको केन्द्र हुन्छ भन्ने प्रमाण २०७२ को भूकम्प, कोरोना महामारीलगायत विपद्का बेलामा रेडियो नेपालसहितका सञ्चारमाध्यमले पुर्‍याएको योगदानबाट पुष्टि भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले २००७ सालको जनक्रान्ति र रेडियो नेपाल नेपालको इतिहासमा दुई जुम्ल्याहा घटना भएको उल्लेख गर्दै २००७ सालको जनक्रान्तिको युगान्तकारी सन्देशलाई गाउँगाउँ र जनजनमा पुर्‍याउन रेडियो नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउनुभयो । उहाँले रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आजका दिन रेडियो नेपाल हुनुमा कोइरालाको लोकतान्त्रिक चेतना र मूल्यमान्यता मुख्य कारण भएका बताउनुभयो ।

समारोहमा राष्ट्रपति पौडेलले जनगायक रामकृष्ण दुवाल र देउडा गायक नन्दकृष्ण जोशीलाई ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान–२०८१’ बाट सम्मान गर्नुभयो । साथै उहाँले वरिष्ठ सङ्गीतकर्मीहरूलाई पनि सम्मान प्रदान गर्नुभयो ।

रेडियो नेपालकको हीरक महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उत्कृष्ट कर्मचारी, समाचारदाता र प्रदेश कार्यालय तथा २५ वर्ष अविछिन्न सेवा प्रवाह गर्नुभएका २२ जना कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गर्नुभयो । उहाँले रेडियो नेपालले प्रकाशन गरेको ‘झङ्कार’ र पूर्वनिर्देशक टीका भण्डारीको ‘रेडियो नेपाल ७५ वर्षः एक सय एक स्रष्टा’ पुस्तक विमोचन गर्नुभयो ।