अमेरिकामा सङ्घीय स्वास्थ्यकर्मी कटौती गर्न शुरू

एजेन्सी । अमेरिकी स्वास्थ्य सेवा मन्त्रालयले १० हजारको रोजगारी कटौती गर्ने उद्देश्यले सङ्घीय स्वास्थ्यकर्मी निकाल्न शुरू गरेको छ ।

कर्मचारीहरु कार्यालयको गेटमै रोकिएपछि मात्र उनीहरुलाई कामबाट निकालिएको थाहा भएको हो । मन्त्रालयको उच्च अधिकारीहरुको संलग्नतामै उनीहरुलाई कार्यालय प्रवेशमा रोकिएको बीबीसीले जनाएको छ ।

अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडीले गएको हप्ता कर्मचारीलाई निकालिने घोषणा गर्नुभएको थियो । अमेरिकी राष्ट्रपतिको कार्यालयले गएको हप्ता खाद्य तथा औषधि प्रशासन (एफडीए) का ३ हजार ५ सय कर्मचारी हटाउने योजना रहेको बताएको थियो ।

समग्रमा सङ्क्रामक रोगहरूको अनुगमन गर्ने, खाद्यान्न र अस्पतालहरूको निरीक्षण गर्ने र देशको लगभग आधा भागका लागि स्वास्थ्य बीमा कार्यक्रमहरूको निरीक्षण गर्ने मन्त्रालयले ठूलो पुनर्संरचना योजनाको हिस्साका रूपमा १० हजार रोजगारी कटौती गर्न लागेको हो ।

यो योजनामा  १० हजार बर्खास्तीका साथै अन्य १० हजार कामदारले राष्ट्रपति ट्रम्पको प्रशासनले सबै सङ्घीय कर्मचारीलाई दिएको प्रारम्भिक अवकाश वा खरिद प्रस्तावहरू लिँदैछन् ।