
यूएसएआईडी बन्द गर्ने थप कदम चाल्न अमेरिकी सङ्घीय अदालतको रोक
एजेन्सी । अमेरिकाको सङ्घीय अदालतले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) बन्द गर्ने थप कदम चाल्न रोक लगाएको छ ।
अदालतले एलन मस्कको नेतृत्वमा रहेको सरकारी कार्यदक्षता विभागलाई अमेरिकी सहयोग निकाय बन्द गर्न लिएको निर्णय तत्काल रोक्न आदेश दिएको हो । सङ्घीय न्यायाधीश थिओडर छ्वाङले यूएसएआईडी बन्द गर्ने प्रयासले अमेरिकी संविधानको उल्लङ्घन गर्न सक्ने भन्दै थप कदम चाल्न रोक लगाउनुभएको बीबीसीले जनाएको छ । उहाँले कर्मचारीहरूलाई यूएसएआईडीको कम्प्युटरमा पहुँच दिन र बिदामा राखिएका कर्मचारीहरूलाई तलब उपलब्ध गराउन आदेश दिनुभएको छ ।
यूएसएआईडीका कर्मचारीहरूको बर्खास्ती रोकिनुपर्ने आदेश दिए पनि हटाइसकेका कर्मचारीहरूलाई पुनर्बहाली गरिनुपर्ने आदेश भने छैन । नाम नखुलेका यूएसएआईडीका २६ जना कर्मचारीको तर्फबाट दायर मुद्दामा यो निर्णय आएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेशविरुद्ध आफूले पुनरावेदन गर्ने भन्दै छ्वाङजस्ता न्यायाधीशहरू अमेरिकाका लागि राम्रो नभएको टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ ।
गएको हप्ता अमेरिकी विदेशमन्त्री मार्को रुबिओले विश्वभरि अमेरिकाको सहयोगमा सञ्चालित स्वास्थ्य र आपत्कालीन सहयोगसम्बन्धी ८३ प्रतिशत कार्यक्रमहरू रद्द गर्न लागेको बताउनुभएको थियो ।