
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो
काठमाण्डौ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैटौं जीत हासिल गरेको छ ।
रुपन्देहीको सिद्धार्थ रङ्गशालामा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । गण्डकीले दिएको ९४ रनको लक्ष्य पुलिसले २ सय ४ बलअघि नै ३ विकेट गुमाएर भेटायो । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ५४ रन बनाए । गण्डकीका विपिन खत्री र सुवास भण्डारीले १र१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकी २३ ओभर २ बलमा ९२ रनमा अलआउट भयो । गण्डकीका अर्जुन कुमालले सबैभन्दा धेरै ४८ रन बनाए । पुलिसका ललित राजवंशीले ५ र गुल्सन झाले ४ विकेट लिए । पुलिसले ६ खेलमा १२ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । गण्डकी ६ खेलमा २ अङ्कसहित पुछारमा छ ।
यस्तै रुपन्देहीकै एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले हराएको छ । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले १ सय १३ बलअघि नै भेटायो । सुदूरपश्चिमका किरण ठगुन्नाले नटआउट ४३ रन बनाए । लुम्बिनीका रमेश कुर्मीले २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ४४ ओभर १ बलमा १ सय १६ रन बनाउँदा सबै विकेट गुमायो । लुम्बिनीका कप्तान देव खनालले सबैभन्दा धेरै ४१ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले ४ विकेट लिए । प्रतियोगितामा सुदूरपश्चिमको यो ६ खेलमा दोस्रो जीत हो भने लुम्बिनीको ६ खेलमा दोस्रो हार हो ।