
विश्व शान्ति पुजा २०८१ चरिकोटमा हुने
काठमाण्डौ । विश्व शान्तिको लागि १८ औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पुजा २०८१ चरिकोटमा हुने भएको छ ।
यहि चैत्र १७ गते देखि २६ गते सम्म १० दिन सम्म १० करोड बज्रगुरु मन्त्रजप तथा विश्व शान्ती पुजा कार्यक्रम चरिकोट स्थित टुडिखेलमा आयोजना गरिएको कार्यक्रमका संयोजक खेन्पो पेमा छिरी शेर्पाले बताउनुभयो ।
कार्यक्रमको बारेमा चरिकोटमा आइतबार पत्रकार सम्मेलन गरि १० करोड बज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पुजा र त्यसको तयारीको बारेमा जानकारी गराईएको थियो । १० दिन सम्म चरिकोट स्थित टुडिखेलमा करिव एक हजार लामाहरु सहभागी भई दैनिक रुपमा मन्त्र जप गर्नेछन् । कार्यक्रममा देश तथा विदेशका विभिन्न लामाहरु सहभागी हुने आयोजकले जनाएको छ ।
सुरुमा गुरु पदमसम्भवको अभिषेक वाङ र बज्रगुरु मन्त्रजपको बारेमा रिन्पोछेबाट प्रवचन हुने र अन्य दिन दैनिक गुरु पदमसम्भवको मन्त्रजप मोन्लाम पुजापाठको साथै दैनिक धार्मिक प्रवचनहरु हुने पुजा व्यवस्थापन समितिका संयोजक मिङगुर शेर्पाले बताउनुभयो ।
हाल सम्म यो पुजा देशको विभिन्न ठाउँहरुमा हुँदै आएको र १८ औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पुजा कार्यक्रम दोलखामा आयोजना गर्ने तयारी अनुसार कार्यक्रमको आयोजना गरिएको खेन्पो पेमा छिरी शेर्पाले बताउनुभयो ।
कार्यक्रममा दश दिनसम्म खेन्पो तथा अन्य लामाहरुले प्रवचन दिनुहुनेछ । दोलखाको अधिकांश भुभाग र दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सोलुखुम्बु, काठमाण्डौलाई लक्षित गरी दोलखामा यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । सो अवधीमा हजारौ व्यक्तिहरु पुजामा सहभागी हुने छन् । कार्यक्रमको लागि करिव साढे ३ करोड खर्च लाग्ने अनुमान गरिएको खेन्पो पेमा छिरी शेर्पाले बताउनुभयो ।