बागमती प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्था दर्ता, नवीकरण र स्तरोन्नति अनलाइनबाटै

भक्तपुर । बागमती प्रदेशका १३ वटा जिल्लामा सञ्चालित सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरूको दर्ता, नवीकरण र स्तरोन्नतिका लागि ‘अनलाइन’ बाटै आवेदन दिन सकिने भएको छ । बाग्मती प्रदेश सरकारले प्रदेशभित्रका स्वास्थ्य संस्थाहरूको दर्ता, नवीकरण र स्तरोन्नतिका लागि अनलाइन सेवा शुभारम्भ गरेको प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले जानकारी दिनुभयो ।

निजीस्तरका अस्पताल तथा स्वास्थ्य संस्थाहरू दर्ता, नवीकरण र स्तरोन्नति हुनु अगाडि सम्बन्धित निकायबाट हुने अनुगमनमा आर्थिक चलखेलको आरोप लागेपछि प्रदेश सरकारले अनलाइनबाटै आवेदन दिने गरी सेवा सञ्चालनमा ल्याएको हो ।

स्वास्थ्यमन्त्री थापाले अनलाइनबाट आवदेन दिएपछि मापदण्ड पूरा भएरनभएको हेरेर दर्ता, नवीकरण र स्तरोन्नति गरिने बताउनुभयो । मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थाहरूको हकमा मन्त्रालयले ६ महिनाको समय थप दिने, ६ महिनाभित्र पनि मापदण्ड पूरा नगर्नेहरूको दर्ता, नवीकरण नगरिने र सेवा बन्द गर्नेरगराउने प्रक्रियामा जाने उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री थापाले अस्पतालको सेवालाई चुस्त र दुरुस्त बनाउने विद्युतीय हाजिरी सेवा शुरू गरेर बागमती प्रदेश मन्त्रालयबाटै दैनिक निरीक्षण गर्ने व्यवस्था गर्न लागेको पनि जानकारी दिनुभयो ।

मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले निजी अस्पताल एवम् स्वास्थ्य संस्थाहरूलाई सहजीकरणसँगै नियमनमा कडाइ गर्ने तयारी गरेको बताउनुभयो ।