निजी विमान कम्पनीहरूले रामेछाप विमानस्थलबाट लुक्ला उडान थाले

रामेछाप । पर्यटकीय सिजन सुरु भएसँगै निजी विमान कम्पनीहरूले रामेछाप विमानस्थलबाट सोलुखुम्बुको लुक्लामा उडान भर्न थालेका छन् । रामेछाप विमानस्थलबाट तारा एअर र समिट एअरले गएको आइतबारदेखि उडान भर्न थालेका हुन् ।

सङ्घीय राजधानी काठमाण्डौको त्रिभुवन विमानस्थलमा चाप धेरै भएपछि पर्यटकीय सिजनमा रामेछापको विमानस्थलबाट सोलुको लुक्लामा उडान हुँदै आएको छ । काठमाण्डौबाट सगरमाथा आधारशिविरतर्फ जाने पर्यटकहरू गाडीमा बीपी राजमार्ग हुँदै रामेछापको सदरमुकाम मन्थलीसम्म आउने गरेका छन् ।

रामेछाप विमानस्थलबाट विमान कम्पनीहरूले दैनिक सरदर ४५ देखि ६० वटा उडान सोलुको लुक्लामा गर्दै आएका छन् । प्रतिकूल मौसममा उडान नहुँदा पर्यटकहरू स्थलमार्ग हुँदै गाडीमार्फत लुक्ला जाने गरेका छन् ।

रामेछाप नागरिक उड्डयन कार्यालयका एअर ट्राफिक कन्ट्रोल (एटीसी) प्रज्वल गुरागाईंका अनुसार आइतवार मौसम सहज भएर उडान भरेका विमानहरूले ९७ जना यात्रुलाई सेवा दिएका थिए । हिजो सोमवार भने लुक्लामा मौसम खराब हुँदा उडान हुन सकेन । हिजो दिनभर जहाजले उडान भर्न नसकेपछि हेलिकप्टर चार्टर्ड गरी पर्यटकहरू लुक्ला गएका थिए ।

काठमाण्डौ विमानस्थलमा उडान र अवतरणका लागि धेरै समय पालो पर्खनुपर्ने भएकाले धेरै उडान गर्नुपर्ने सिजनमा रामेछाप विमानस्थलबाट लुक्लाको उडान थालिएको केही वर्ष भएको छ ।