
त्री दिवसीय “व्यवहारमा करुणा ध्यान शिविर” सम्पन्न
सुप्रिया राई, काठमाण्डौ । बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित त्री दिवसीय “व्यवहारमा करुणा ध्यान शिविर” मंगलबार सम्पन्न भएको छ ।
चैत ३ देखि ५ गतेसम्म बौद्ध तिनचुलीस्थित नाम्गेल झाङछुब च्योइलिङ गुम्बामा सम्पन्न उक्त शिविर नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा बौद्ध जागरण केन्द्रको व्यवस्थापनमा सञ्चालन भएको थियो।
सिविरको पहिलो दिन बौद्ध धर्मको परिचय, बौद्ध धर्ममा ध्यान साधनाको महत्वको चर्चा गरिएको थियो । शिविरको दोस्रो दिन शाक्यमुनि ध्यान साधनाको प्रशिक्षण तथा गरु रिन्पोछेको परिचय, दैनिक जीवनमा ध्यान गर्ने विधी र त्यसका फाइदाका बारेमा विशेष प्रशिक्षण दिइएको थियो । त्यस्तै, शिविरको तेस्रो तथा अन्तिम दिन मानवीय जीवनमा ध्यानको के कस्तो महत्व रहन्छ भन्नेबारेमा चर्चा गरिएको थियो ।
गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको प्रमुख आतिथ्यमा सिविर आयोजना भएको थियो । सिविरको पहिलो दिन उहाँले ध्यान र धर्मबीचको फरकलाई आत्मसाथ गरि मन, शरीर र वचनलाई स्वच्छ अनि शुद्ध कसरी बनाउने भनेर आशीर्वाचन दिनुभयो ।
बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक होम बहादुर दोङले कागजी ज्ञान मात्र पर्याप्त नहुने भएकाले आध्यात्मिक ज्ञान पनि आवश्यक रहेको बताउनुभयो । सोही कुराको मध्यनजर गर्दै बौद्ध दर्शनलाई बुझ्न शिविरको आयोजना गरिएको उहाँको भनाइ छ ।
त्री दिवसीय ध्यान शिविरका प्रशिक्षक खेन्पो निमा ढिन्डु शेर्पाले बौद्ध धर्मको अनूयायी भएर मात्र पर्याप्त नहुने भएकाले व्यक्ति स्वयम्ले जानेबुझेको कुरालाई निरन्तर अभ्यास गर्न सुझाव दिनुभयो । आगामी दिनमा पनि धर्ममा आस्था राख्ने बौद्धमार्गीहरुलाई बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समितिले यस्तै मौका दिनेछ भन्नेमा आफू आशावादी रहेको बताउनुभयो ।
बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समितिका अध्यक्ष फूपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्ड्रोल) ले शिविरहरु देशका हरेक विकट गाँउमा पनि सञ्चालन गर्न आफूले पहल गर्ने बताउनुभएको छ । सिमित स्रोत साधनका कारण विभिन्न अपेक्षाकृत कार्यक्रमहरु अघि बढाउन चुनौती थपिएकाले तीनै तहको सरकारले त्यसमा सहजीकरणको भूमिका खेलि सहयोग गर्नुपर्ने उहाँको धारणा छ ।
सहभागीहरुले ध्यान सिविरमा गुरु रिन्पोछेले प्रदान गर्नुभएको आशिर्वचनले साधनाप्रति नयाँ उत्साह र ज्ञान थपिएको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरुले देशका विभिन्न ठाँउमा यस्ता शिविरहरु आयोजना गरि धेरै भन्दा धेरै मानिसमा बौद्ध धर्मको परिचय, ज्ञान, साधनाको महत्वको प्रचार एवम् प्रर्वद्धन गनुपर्ने सुझावसतिको प्रतिक्रिया दिएका छन् ।
समापन कार्यक्रममा उपस्थित सबै सहभागीहरुलाई प्रशिक्षक खेन्पो निमा ढिन्डु शेर्पा र गुम्बा विकास समितिका अध्यक्ष फूपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्ड्रोल) ले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रम संयोजक रामबाबु सापकोटाका अनुसार नेपालका विभिन्न १३ जिल्लाका १४७ जना प्रशिक्षार्थीले सहभागीता जनाएका थिए ।