
८ महिनामा २० वटा गैंडा मरे, चोरी–शिकारीबाट हुने मृत्यु शून्य
चितवन । चालू आर्थिक वर्षको ८ महिनामा २० वटा गैंडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा ती गैंडा मृत भेटिएका हुन् ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार चालू आर्थिक वर्षमा मृत भेटिएका गैंडाहरू प्राकृतिक कारणले मरेका हुन् । बाघ तथा गोहीको आक्रमणमा परेर, एकापसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर र बुढो भएर मरेका हुन् ।
यस आर्थिक वर्षमा चोरी–शिकारीका कारण भने गैंडा नमरेका उहाँले जानकारी दिनुभयो । गएको आर्थिक वर्षमा २१ वटा गैंडा मरेका थिए । मरेका गैंडामध्ये १८ वटा प्राकृतिक कारण मरेकामा २ वटा चोरी–शिकारीले र एउटाको कारण खुल्न नसकेको उहाँले बताउनुभयो ।
मगरका अनुसार आर्थिक वर्ष २०७९र८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैंडा मरेका थिए । तीमध्ये २० वटा कालगतिले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी–शिकारीका कारण मरेका थिए ।
प्राकृतिक कारणले धेरै गैंडा मरेपछि वन तथा वातावरण मन्त्रालयले मृत्युको कारण खोजी गर्न समिति बनाएको थियो । पछिल्ला वर्षहरूमा प्राकृतिक कारणबाट हुने गैंडाको मृत्युदर घट्दै आएको छ । आर्थिक वर्ष २०७५र७६ मा प्राकृतिक कारणले मात्र ४३ वटा गैंडा मरेका थिए । त्यसपछिका वर्षहरूमा प्राकृतिक कारणले हुने मृत्युदर घट्दै आएको छ ।
सन् २०२१ को गणना अनुसार नेपालमा गैंडाको सङ्ख्या ७ सय ५२ वटा रहेको छ । एकसिङ्गे गैंडाको सङ्ख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा रहेको छ । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा ३ वटा गैंडा रहेको तथ्याङ्क छ । चालू आर्थिक वर्षमा गैंडा गणना कार्यक्रम रहे पनि स्थगन भएको छ ।