प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान

काठमाण्डाै ।  नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आज गृह मन्त्रालयमा सचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । थापा नेपाल प्रहरीको ३१औं आईजीपी बन्नुभएको छ ।

दर्ज्याही चिह्न ग्रहणपछि महानिरीक्षक थापाले आफूले पहुँचको नभई पद्धतिको थिति बसाल्न प्रयत्न गर्ने बताउनुभयो । अपराधको रोकथाम र अनुसन्धान कुनै पनि बहाना र विकल्पविना अघि बढाउने उहाँले प्रतिबद्धता जनाउनुभयाे । देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाई नागरिकमा अमनचयन र कानूनी राज्यको प्रत्याभूति दिलाउन आफूले पहल गर्ने महानिरीक्षक थापाको भनाइ छ ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै देशको शान्ति, सुरक्षा, सुव्यवस्था, सुशासन र अमनचयन कायम गरी सुखी नेपाली र समृद्ध नेपालको लक्ष्यका लागि काम गर्न आग्रह गर्नुभयो ।