मुक्कुमलुङ संरक्षण तथा केबलकार निर्माण विवाद समाधानका लागि वार्ता टोली गठन

काठमाण्डौ । मुक्कुमलुङ संरक्षण तथा केबलकार निर्माणसम्बन्धी विवाद समाधानका लागि गठित वार्ता टोलीलाई मुक्कुमलुङ तासेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले वार्ताका लागि तयार रहेको जानकारी गराएको छ।

नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गत सिंहदरबार, काठमाडौंमा वार्ता टोली गठन गरी मुद्दा समाधानको पहल गर्न आमन्त्रण गरिएपछि संघर्षरत पक्षले स्वागत गर्दै वार्तामा बस्ने घोषणा गरेका छन्।

संघर्ष समितिले मुक्कुमलुङ संरक्षण तथा केबलकार निर्माण खारेजीको माग राख्दै आएको छ। समितिले यस विषयलाई केवल ताप्लेजुङ जिल्लासँग मात्र सम्बन्धित नभई नेपालसहित विश्वभरका मानिसहरूको सांस्कृतिक तथा आध्यात्मिक आस्थासँग जोडिएको विषय भएको जनाएको छ।

संघर्ष समितिले वार्ता सहज बनाउन ४ बुँदे सर्त स्मरण गराउँदै वार्तालाई सौहार्दपूर्ण बनाउन आग्रह गरेको छ। साथै, समितिले वार्ता सहजीकरण टोली गठन गरिएको जानकारी गराएको छ। वार्ता सहजीकरण टोलीको संयोजकमा सरस्वता ९सरु० सिंगक रहेकी छन् । त्यसैगरी सदस्यहरूमा कुमार लिम्बू, सुर्य विक्रम चेम्जोङ, धनराज हुक्पा चोङबाङ ९फेदापे०,दिपक याक्खा,लबन न्यौपाने, सन्तोष मेहता, पदम जवेगु,आलोक माबोहाङ र अर्जुन जुम्नेली राई रहेका छन् ।

यस आन्दोलनमा विभिन्न जातीय, धार्मिक, सांस्कृतिक तथा राजनीतिक संघसंस्थाहरू आबद्ध छन्। संघर्ष समितिमा श्री प्रसाद लिम्बू, खगेन्द्र फेम्बु, प्रेम येक्तेन, जीवन हाताचो राई, नन्द कन्दङ्वा, डकेन्द्रसिंह थेगिम, गेल्जे शेर्पा, डिमि शेर्पा, राजेन्द्र इघिङ्गो, किरण कुमार सिगु, सागर केरुङ, प्रदिप नेयोङ, हेम्बु इजम लगायतका व्यक्तिहरू नेतृत्वमा छन्।

यस मुद्दामा विभिन्न राजनीतिक दलहरू समेत संलग्न भएका छन्। वार्ता प्रक्रियामा सहजीकरण गर्न राष्ट्रिय मुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, पहिचानवादी मोर्चा, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेपाल जनमुक्ति पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल कम्युनिस्ट पार्टी, आमूल परिवर्तन नागरिक पार्टी, बहुजन शक्ति पार्टी लगायतका दलका नेताहरूको सहभागिता रहेको बिज्ञप्तिमा जनाइएको छ।

संघर्ष समितिले वार्तामा सहमति भए पनि आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ। अब वार्तामा कुन निष्कर्ष निस्किन्छ भन्ने प्रतीक्षा गरिएको सदस्य लिङ्देनले बताएका छन्।