रुसी राष्ट्रपति पुटिन ढिलो–चाँडो वार्तामा आउनैपर्छ : बेलायती प्रधानमन्त्री स्टार्मर

एजेन्सी । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ढिलो–चाँडो वार्तामा आउनैपर्ने बताउनुभएको छ ।

युक्रेनमा शान्ति सुनिश्चित गर्न आयोजित भर्चुअल बैठकमा बेलायती प्रधानमन्त्री स्टार्मरले विश्वका नेताहरूलाई पुटिन ढिलो–चाँडो वार्ताको टेबलमा आउनुपर्छ भन्नुभएको बीबीसीले जनाएको छ । यस्तै उहाँले विश्वका नेताहरूलाई युक्रेनमा सम्भावित शान्ति सम्झौताको रक्षा गर्न तयार रहन पनि आग्रह गर्नुभएको छ ।

यसअघि बेलायती प्रधानमन्त्री स्टार्मरले रुसी राष्ट्रपति पुटिन शान्तिको बारेमा गम्भीर नभएको आरोप लगाउँदै रुसमाथि दबाव जारी राख्न विश्व नेताहरूलाई आग्रह गर्नुभएको थियो । उहाँले पुटिनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्तावहरूसँग खेल खेल्न अनुमति दिन नसकिने भन्दै आफ्ना समकक्षीहरूलाई युक्रेनका लागि सुरक्षा ग्यारेन्टी प्रदान गर्न आग्रह गर्नुभएको हो ।

युक्रेनमा शान्ति सुनिश्चित गर्न आयोजित भर्चुअल बैठकमा युरोपेली साझेदारहरू, ईयू आयोग, नेटो, युक्रेन, क्यानडा र अन्यसहित झन्डै २५ जना नेता उपस्थित रहेका बेलायती प्रधानमन्त्री स्टार्मरको कार्यालय डाउनिङ्ग स्ट्रीटले बताएको छ ।

अमेरिकाले प्रस्ताव गरेको ३० दिने युद्धविरामलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समर्थन गरे पनि रुसी राष्ट्रपति पुटिनले अझै अनुमोदन गर्नुभएको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले आफू सम्झौताका लागि आशावादी रहेको र पुटिनसँग राम्रो र उत्पादक वार्ता भएको बताउनुभएको बीबीसीको खबरमा उल्लेख छ ।