सगरमाथाको आधारशिविर पुग्यो ‘आइसफल डाक्टर’को टोली : डोरी टाँग्ने, भर्‍याङ राख्नेलगायतका काम गर्ने

काठमाण्डौ । सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउन खटाइएको ‘आइसफल डाक्टर’को टोली आधारशिविर पुगेका छन् ।

उनीहरुले आधारशिविर ‘क्याम्प सेट’ सुरु गरेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।

आउँदो हप्तादेखि टोलीले बाटो बनाउन सुरु गर्नेछ । आइसफल डाक्टरको टोलीले दोस्रो शिविरसम्म डोरी टाँग्ने, भर्‍याङ राख्नेलगायतका काम गर्नेछन् ।

यस पटक छिरिङ तेन्जिङ शेर्पासहित ८ जनाको टोली खटिएका छन् । सहयोगीसहित ३० जनाको टोलीले एक महिनासम्म काम गर्ने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

आधारशिविरदेखि खुम्बु आइसफल हुँदै दोस्रो शिविरसम्मको रुट खोल्ने जिम्मा पर्यटन विभागले सन् १९९७ देखि एसपीसीसीलाई दिँदै आएको हो । आइसफल डाक्टरको टोलीले आधारशिविरदेखि दोस्रो शिविरसम्मको ‘रुट’ तयार गरिसकेपछि मात्र आरोहीहरुले आरोहण गर्ने र त्यस भन्दामाथिको ‘रोप पिक्सिङ’को अनुमति पाउँछन् ।

यसवर्ष दोस्रो शिविरसम्म रुट खोल्नका लागि झण्डै ८० लाख रुपैयाँ लाग्ने अनुमान छ । सगरमाथाको दोस्रो शिविरसम्म जाने बाटो निर्माण गर्न खुम्बु आइसफल क्षेत्र जोखिमयुक्त भाग हो ।

आइसफल डाक्टरले जोखिमपूर्ण ठाउँमा भर्‍याङ राख्ने, डोरी टाँग्ने, हिउँ तथा बरफको अस्थिर संरचनालाई हटाउने गर्छन् ।