पत्रकारले निष्पक्ष रुपमा कलम चलाउनुपर्छ :मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारले निष्पक्ष रुपमा काम गर्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ कर्णालीले प्रदेशका महिला पत्रकारहरूका लागि आयोजना गरेको तीन दिने तालिमको उद्घाटन कार्यक्रममा बाल्नुहुँदै उहाँले प्रदेश सरकारले पत्रकारका लागि रचनात्मक कार्यक्रम कार्यान्वयन गरिरहेको बताउनुभयो ।

कर्णाली प्रदेशको आमसञ्चार विधेयक प्रति लक्षित गर्नुहुँदै उहाँले अधिकारका लागि भन्दा हैसियत र संरचनामा ध्यान जाँदा विधेयक नै विवादित हुँदै गएको जानकारी दिनुभयो । पत्रकारका लागि प्रदेश सरकार सहयोगीको रुपमा रहेको उहाँको भनाइ छ । सरकारले गरेका राम्रा कामका बारेमा समेत पत्रकारले समाचार प्रकाशित गर्नुपर्ने भन्दै नराम्रा कुराको मात्र धेरै प्रचार भइरहेको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकारको संरक्षण सरकारले गर्नुपर्ने बताउनुभयो । कर्णालीको सञ्चारमाध्यमलाई टिकाउनका लागि यहाँकै स्थानीय र प्रदेश सरकारको दायित्व भएकाले नीति बनाएर काम गर्नुपर्ने आवश्यकता भएको उहाँको भनाइ छ । पत्रकारको क्षमता अभिवृद्धि र सञ्चार गृहको आर्थिक अवस्था मजबुत बनाउनका लागि प्रदेश सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । महिला पत्रकारको क्षमता विकाससँगै लैंगिक नीति निर्माणमा सरकारले चासो दिनुपर्ने उहाँको सुझाव थियो ।

पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले तालिमले व्यावसायिकतामा दक्षता हासिल गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार तालिममा पत्रकार महिलाका चुनौती र अवसरबारेमा छलफल हुनेछ ।