
होली र रमजान पर्वका लागि बाँकेमा कडा सुरक्षा
नेपालगन्ज । हिन्दुहरूको महानपर्व होली र मुस्लिम समुदायको रमजानको ठुलो नमाज हुने आज एकै दिन परेकाले शान्तिपूर्ण रूपमा पर्व मनाउन बाँकेको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समितिका अध्यक्ष धर्मराज जोशीले होली र रमजानलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो । अहिले बाँकेमा एक हजारभन्दा बढी सुरक्षा परिचालन गरिएको छ ।
उहाँले आफुले सबै सुरक्षा निकायका प्रमुखहरूलाई लिएर नेपालगन्जका विभिन्न मस्जिद तथा होली खेल्ने ठाउँको अनुगमन गरेको जनाउँदै सबैले होली र नमाजलाई सदभावका साथ मनाउने प्रतिबद्धता जनाएको बताउनुभयो ।
यसअघि धार्मिक सदभाव समितिको बैठक बोलाएर होली र रमजानको जुमालाई अतिनै सदभाव तथा भाइचारका साथ मनाउने निर्णय पनि गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।
पहिलो पटक सुरक्षा समितिको सिङ्गो टोली मस्जिदमा पुगेर होली र रमजानको शुभकामना दिनुका साथै नागरिक अगुवा र धार्मिक गुरुसँग प्रत्यक्ष संवाद गरिएकोमा स्थानीय मुस्लिम धर्मगुरुहरूले सो कार्यको सराहना गरेका छन् ।
नेपालगन्जका मुस्लिम धर्मगुरुहरूले सम्पूर्ण समुदायसँग शुक्रबार जुमाको नमाज आफ्नो घर नजिक र टोलमा रहेको मस्जिदमा पढ्न आग्रह गरेका छन् भने हिन्दु समुदायका अगुवाहरूले पनि रङ खेल्ने कार्यलाई दिउँसो २ बजेभन्दा पहिलेनै सम्पन्न गर्न समुदायसँग आग्रह गरेका छन् ।
नेपालगन्जका विभिन्न क्षेत्रको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीसँगै बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की, सशस्त्र प्रहरी बल ३० नं। गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी शोभाकान्त खनाल, नेपाली सेना राँझाका प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग नेपालगन्जका प्रमुख लगायत पनि सहभागी हुनुहुन्थ्यो ।
स्थलगत अनुगमनपछि बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले होली र जुमालाई ख्याल गरि नेपालगन्जमा एक हजार प्रहरी परिचालन गरिएको बताउनुभयो । उहाँले सम्वेदनशील र अतिसंवेदनशील क्षेत्रको परिचान गरि सादा पोशाक र बर्दीका प्रहरी परिचालन गरिएको बताउनुभयो ।
अघिल्ला वर्षमा भएको सुरक्षा व्यवस्थाको मूल्याङ्कन गरी यस वर्ष सुरक्षा व्यवस्थामा थप सजगता अपनाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
होली र जुमालाई मध्यनजर गरी ३०० सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल ३० नं। गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी खनालले जानकारी दिनुभयो ।