काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रको मौसम सुधार, भिजिबिलिटी बढ्यो

काठमाण्डौ । काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा आकाश खुलेको छ । लगातार दुई दिनसम्म बेलुकी परेको पानीका कारण केही दिनदेखि घुम्म भएको मौसममा आज केही सुधार आएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार त्रिभुवन विमानस्थलको भिजिबिलिटीमा पनि सुधार भएको छ ।

भिजिबिलिटी कम हुँदा अस्ति विमानस्थलको उडान र अवतरण अवरुद्ध भएको थियो । हिजोसम्म १ हजार पाँच सयसम्म झरेको विमानस्थलको भिजिबिलिटी अहिले भने सामान्य अवस्थाजस्तै ४ हजार पुगेको छ ।

आज पनि काठमाण्डौ उपत्यकामा बेलुकीपख हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबीच, देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकोले पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही ठाउँमा हल्का हिमपात तथा मेघगर्जन र चट्याङसहितको हल्का वर्षाको सम्भावना छ ।

यस्तै लुम्बिनी प्रदेशमा पनि मेघगर्जन र चट्याङसहितको हल्का वर्षाको सम्भावना छ । मधेश प्रदेश र अरु प्रदेशका तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ ।