
आज विश्व मिर्गौला दिवस मनाइँदै
काठमाण्डौ । आज विश्व मिर्गौला दिवस मनाइँदैछ । प्रत्येक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीवार यो दिवस मनाइन्छ ।
मिर्गौलासम्बन्धी सचेतना जगाउनका लागि सन् २००६ देखि यो दिवस मनाउन थालिएको हो । यस वर्षको विश्व मिर्गौला दिवस आज फागुन २९ गते परेको हो । ‘मिर्गौला स्वास्थ्यबारे समयमै थाहा पाऔँ, मिर्गौला बचाऔँ’ भन्ने नाराका साथ यो वर्ष विश्वभर विभिन्न कार्यक्रमका साथ मिर्गौला दिवस मनाइँदै छ ।
विश्वमा प्रत्येक १० मध्ये एक जनालाई मिर्गौलाको दीर्घकालीन रोग लाग्ने गर्छ । दक्षिण एशियाली देशहरू-भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत देशमा बढ्दो मधुमेह र उच्च रक्तचापका कारण पनि दीर्घकालीन मिर्गौला रोगको जोखिम बढी पाइएको छ ।
संसारभर १० प्रतिशत जनसङ्ख्या अर्थात् झन्डै ८५ करोड जनाभन्दा धेरैलाई दीर्घकालीन मिर्गौला रोग लागेको अनुमान छ । यो रोग विशेष गरी वृद्धवृद्धा र मधुमेह लागेकाहरूमा धेरै देखिन्छ ।
नेपालमा एक सयभन्दा बढी अस्पताल, स्वास्थ्य संस्था तथा केन्द्रमा डायलसिस सेवा विस्तार भएको छ । झन्डै आठ हजार मिर्गौला फेल भएका बिरामीलाई नियमित डायलसिस गराई ज्यान बचाउन सम्भव भएको छ ।
यस्तै वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लगायतका सरकारी तथा निजी अस्पतालमा डायलासिस सेवा तथा मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ ।
चिकित्सकहरुका अनुसार बेलाबेलामा स्वास्थ्य परीक्षण गर्ने, खानामा ध्यान दिने , प्रशस्त पानी पिउने, व्यायाम गर्ने र धुलो, धुँवालगायतका वातावरणीय प्रदूषणबाट मुक्त रहन सकियो भने मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ ।