देशका केही ठाउँमा हल्का हिमपात र छिटपुट वर्षाको सम्भावना

काठमाण्डौ । पश्चिमी तथा स्थानीय वायूको आंशिक प्रभावका कारण अहिले कोशी प्रदेशलगायत देशका पहाडी भागको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । देशका अरु बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही केही ठाउँमा खण्डित र मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुन सक्ने सम्भावना छ ।

यस्तै बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी क्षेत्रमा हल्का हिमपात र मेघगर्जन, चट्याङसहित छिटपुट पानी पर्ने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिममा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबीच गएको चौबिस घण्टामा बाजुरा, मुगु, कास्की, लमजुङ, तनहुँ, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ, इलामलगायतका जिल्लामा छिटपुटदेखि हल्का वर्षा मापन भएको महाशाखाले जनाएको छ ।