आपतकालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण

धनगढी । सङ्घीय सरकारले प्रादेशिक आपतकालीन गोदामघर सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । गृहमन्त्री रमेश लेखकले आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण गर्नुभयो ।

धनगढी विमानस्थलमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले निर्माण गरेको आपतकालीन गोदामघर आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत रहने गरी अब प्रदेश सरकार मातहतमा आएको छ ।

आपतकालीन गोदाम घरको व्यवस्थापन अब प्रदेश सरकारले गर्ने गृहमन्त्री लेखकले बताउनुभयो । उहाँले गोदामघरको रेखदेख, नियन्त्रण प्रदेश सरकारले गर्ने र आवश्यक परेको बेला प्रयोग गर्ने उल्लेख गर्नुभयो । गोदामघरमा सामानहरु सङ्घीय सरकारले पनि पठाउने गृहमन्त्रीको भनाइ थियो ।

उहाँले यस्तो गोदामघर प्रत्येक पालिकामा पनि व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । प्रदेश सरकारले पालिकालाई अनुदान दिँदा त्यसमा गोदामघरको लागि तोकेर नै पठाइ दिँदा हुने र जुनसुकै बेला जोखिम हुन सक्ने खतरा भएको जिकिर गर्नुभयो । जुनसुकै विपद् भएमा व्यवस्थापन गर्ने पहिलो निकाय स्थानीय सरकार भएको त्यसैले गोदामघर स्थानीय सरकारमा पनि हुनु जरुरी भएको बातउनुभयो ।

यसैगरी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय सरकारले गोदाम प्रदेश सरकारलाई हस्तान्तरण गरेर अत्यन्त सह्रानीय कार्य गरेको उल्लेख गर्नुभयो । यो पनि सङ्घीयता कार्यान्वयनको एक पाटो रहेको उल्लेख गर्दै प्रदेशभित्र रहेका हरेक संरचनाले प्रदेश सरकारलाई चिन्नु पर्ने बातउनुभयो ।

गोदाममा विपत् सम्बन्धित सामग्रीहरु भण्डारन रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।