आज केही ठाउँमा हल्का वर्षा र हिउँ पर्ने सम्भावना

काठमाण्डौ । अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले हिमाली र पहाडी क्षेत्रमा मौसम बदली र तराईमा मुख्यतया मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रका एक–दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ ।

कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा भने मेघगर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना पनि रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव भएकाले केही दिनदेखि काठमाण्डौ उपत्यकाहित देशका धेरै ठाउँमा बादल लाग्ने र बेलुकीपख हावाहुरीसहित छिटपुट पानी पर्ने गरेको छ ।