
युनिभर्सल माध्यमिक विद्यालयको ३२ औं अभिभावक दिवस भव्य रूपमा सम्पन्न
काठमाण्डौ । काठमाडौं महानगरपालिका वडा नं . ५ स्थित युनिभर्सल माध्यमिक विद्यालयले आफ्नो ३२ औं अभिभावक दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ।
एनप्याब्सनका केन्द्रीय अध्यक्ष नारायण कर्मा कार्की प्रमुख अतिथि रहनुभएको यस विशेष कार्यक्रम विद्यालयका प्राचार्य विजय राज खरेलको सभापतित्वमा आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका प्राचार्य, समाजसेवी तथा विशिष्ट व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बिद्यालयमा आवद्ध् रहनु भएका नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक बिदुर गिरी समेत अतिथिका रूपमा रहनुभएको थियो।
अभिभावक दिवसलाई थप आकर्षक बनाउन सांस्कृतिक कार्यक्रम, स्काउट तथा तेक्वान्दो टोलीको विशेष प्रस्तुति, फुड फेस्टिबल, कार्निभल, विज्ञान तथा सामाजिक प्रदर्शनी लगायतका कार्यक्रमहरू प्रस्तुत गरियो। विद्यालयका प्राचार्य विजय राज खरेलले स्वागत मन्तव्य दिँदै शिक्षा मात्र नभई विद्यार्थीहरूको बहुप्रतिभा विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीहरूलाई आत्मविश्वास बढाउन, नेतृत्व क्षमता विकास गर्न र टीम वर्कको महत्त्व बुझाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
कार्यक्रमको प्रमुख अतिथि नारायण कर्मा कार्कीले आफ्नो सम्बोधनमा सर्वांगीण शिक्षाको आवश्यकताबारे प्रकाश पार्दै युनिभर्सल स्कुलले प्रदान गर्दै गरेको गुणस्तरीय शिक्षाका लागि लिइरहेको पहलकदमीको प्रशंसा गर्नुभयो। उहाँले बिद्यालयमा शिक्षण पेशामा आवद्ध रहनुहुने सम्पूर्णलाई शिक्षण सिकाइमा परिवर्तन गर्नेपर्ने बेला आएको सुझाव समेत दिनुभयो भने युनिभर्सलका अभिभावकहरुलाई राजा र रानीको उपमा दिदै आफ्ना छोरा छोरीको घर भित्रको संस्कार सहितको शैक्षिक बातावरणलाई पनि ध्यान दिनुहोस् भन्दै विद्यालयको योगदान बारे चर्चा गर्दै विद्यार्थीलाई सिर्जनशील र व्यावहारिक शिक्षा प्रदान गर्न यस्ता कार्यक्रम फलदायी हुने बताउनुभयो।
विद्यालयका विद्यार्थीहरूले नेपाली सांस्कृतिक विविधता झल्कने नृत्य तथा गीत प्रस्तुत गरेर कार्यक्रमलाई जीवन्त बनाए। बालबालिकाहरूले नेपालको विभिन्न भेगका परम्परागत नृत्य, आधुनिक नृत्य तथा समूहगत नृत्य प्रस्तुत गरेका थिए। साथै, विद्यालयको म्युजिक ब्यान्डले समेत आफ्ना प्रस्तुतिहरू मार्फत दर्शकहरूलाई मन्त्रमुग्ध बनायो। स्काउट टोलीले अनुशासन, सेवा भाव र सामाजिक उत्तरदायित्वको सन्देश दिने विविध गतिविधिहरू प्रदर्शन गर्यो भने तेक्वान्दो टोलीले आकर्षक मार्सल आर्ट्सका प्रदर्शन गरेर उपस्थित दर्शकहरूको वाहवाही बटुल्यो। यस वर्षको अभिभावक दिवसको अर्को विशेष आकर्षण फुड फेस्टिबल र कार्निभल रह्यो।
विद्यार्थी, अभिभावक तथा विद्यालयका शिक्षकहरूका लागि विभिन्न परिकारहरू तयार पारिएको थियो। नेपाली परम्परागत खाना देखि लिएर अन्तर्राष्ट्रिय स्वाद समेटिएको फुड स्टलहरूमा ठूलो चहलपहल देखिन्थ्यो। यसैगरी, कार्निभलमा विभिन्न खेल गतिविधिहरू, पपकोर्न स्टल, फेस पेन्टिङ, तथा मनोरञ्जनात्मक कार्यक्रमहरू राखिएको थियो। विद्यार्थीहरूका लागि खेल्ने र रमाउने अवसर दिन यस्ता कार्यक्रमको आयोजना गरिएको पनि प्रिन्सिपलले जानकारी दिनुभयो ।
कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष विज्ञान प्रदर्शनी रह्यो, जसमा विद्यार्थीहरूले आफ्ना नवीनतम आविष्कारहरू, अनुसन्धान परियोजनाहरू र विज्ञानसम्बन्धी मोडलहरू प्रदर्शन गरेका थिए। विद्यार्थीहरूलाई विज्ञान र प्रविधिमा रुचि बढाउनका लागि यस्ता गतिविधिहरू प्रेरणादायी हुने विद्यालय प्रशासनको भनाइ छ। विभिन्न कक्षाका विद्यार्थीहरूले नवीकरणीय ऊर्जा, रोबोटिक्स, कृत्रिम बुद्धिमत्ता ९ब्क्ष्० तथा वातावरणीय विज्ञान सम्बन्धी परियोजनाहरू प्रस्तुत गरेका थिए। अभिभावक तथा अतिथिहरूले विद्यार्थीहरूका सिर्जनशील परियोजनाहरूको प्रशंसा गर्दै विज्ञान प्रदर्शनीलाई अझ परिस्कृत गर्दै लैजान सुझाव दिनु भएको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरू मात्र नभई अभिभावकहरूको समेत उत्साहजनक सहभागिता रह्यो। अभिभावकहरूले विद्यालय प्रशासनको शिक्षणशैली, अतिरिक्त क्रियाकलापहरू तथा कार्यक्रमहरूको व्यवस्थापनको प्रशंसा गर्दै विद्यार्थीहरूको बहुआयामिक विकासका लागि यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिले विद्यार्थीहरूलाई पाठ्यपुस्तक बाहिरका ज्ञान तथा जीवनोपयोगी सीप प्रदान गर्ने उद्देश्यले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।
कार्यक्रमको अन्त्यमा विद्यालयका प्राचार्य विजय राज खरेलले कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा अतिथिहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले विद्यालयलाई गुणस्तरीय शिक्षाको गन्तव्य बनाउन विद्यालय प्रशासन कटिबद्ध रहेको बताउँदै अभिभावक दिवसलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसरी विद्यालयको ३२ औं अभिभावक दिवस केवल औपचारिक कार्यक्रम मात्र नभई विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गर्ने, अभिभावक तथा विद्यालयबीचको सम्बन्धलाई अझ मजबुत बनाउने, साथै विद्यार्थीहरूलाई अतिरिक्त ज्ञान तथा मनोरञ्जन प्रदान गर्ने एउटा महत्वपूर्ण अवसरका रूपमा सफलतापूर्वक सम्पन्न भयो।