काठमाण्डौको साँखुमा टिपरको ठक्करबाट दुई बालकसहित तीन जनाको ज्यान गयो

काठमाण्डौ । काठमाण्डौको साँखुमा टिपरले ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ । द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले जस्ताको टहरामा सञ्चालन गरेको बालबालिकाहरुको आश्रयस्थलमा टिपर ठोक्किँदा वर्ष र थर नखुलेका दुई बालक आकाश र सुमन तथा ४५ वर्षका हरिजनको ज्यान गएको प्रहरीले जनाएको छ ।

शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटारमा रहेको साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर आज बिहान साढे ३ बजेतिर अनियन्त्रित भई सडक छेउको टहरोमा ठोक्किएर भित्र पसेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक ( एसपी ) अपील राज बोहराले जानकारी दिनुभयो ।

टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए । संस्थामा ६१ जना बस्दै आएका थिए । टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई बौद्ध प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।