सुशासन प्रवर्द्धन र आर्थिक कार्यविधिसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

काठमाण्डौ । प्रतिनिधिसभाबाट सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ स्वीकृत भएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा बहुमतले अध्यादेश स्वीकृत भएको हो । सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । प्रस्तावलाई बहुमत सांसदले स्वीकृत गरेको सभामुखले सभामा घोषणा गर्नुभयो ।

यस्तै बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१ पनि बहुमतले स्वीकृत गरेको छ । सरकारको तर्फबाट उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश स्वीकृत गर्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभयो । प्रस्तावलाई बहुमत सांसदले स्वीकृत गरेको सभामुखले सभामा घोषणा गर्नुभयो ।

यससँगै सरकारलाई अध्यादेशको ठाउँमा प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ ।