
आज विश्व वन्यजन्तु दिवस मनाइँदै
काठमाण्डौ । आज विश्व वन्यजन्तु दिवस, ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’नाराका साथ संसारभर मनाइँदैछ ।
वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवम् पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिन यो दिवस मनाइने गरिन्छ ।
संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाले जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा घोषणा गरेको हो ।
सन् १९७३ मा आजकै दिन लोपोन्मुख प्रजातिका वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (सीआईटीईएस)अनुमोदन भएको थियो ।
त्यही वर्षको मार्च ३ देखि १४ सम्म थाइल्याण्डको राजधानी ब्याङ्कककमा भएको जलवायु परिवर्तनसम्बन्धी १६ औँ राष्ट्रसङ्घीय सम्मेलन तथा सीआईटीईएस पक्षराष्ट्रको सम्मेलनले थाइल्याण्डको वन्यजन्तु दिवस मनाउने प्रस्ताव अनुमोदन गर्दै महासभासमक्ष स्वीकृतिका निम्ति अनुरोध गरेको थियो ।
राष्ट्रसङ्घका अनुसार सीआईटीईएसको सचिवालयले वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित संयुक्त राष्ट्रसङ्घीय निकायका साथै अन्य संस्थाहरुसँगको सहकार्यमा विश्व वन्यजन्तु संरक्षणसम्बन्धी परियोजनाको कार्यान्वयनलाई सहजीकरण गर्दै आएको छ । सीआईटीईएसमा १८३ देश सदस्य छन् ।