एशियाली महिला कबड्डी च्याम्पियनशिप खेल्न नेपाली टोली इरानमा

काठमाण्डौ । छैटौँ एशियाली महिला कबड्डी च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्न नेपाली टोली इरान प्रस्थान गरेको छ ।

इरानको तेहरानमा भोलिदेखि यही मार्च ९ तारिखसम्म हुने च्याम्पियनशिपमा भाग लिन १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोली त्यसतर्फ गएको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरेका छन् ।

प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बङ्गलादेश, थाइल्याण्ड र मलेसिया गरी सात राष्ट्र सहभागी हुनेछन् । मानमति विष्टको कप्तानीमा रहेको नेपाली टोलीमा जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आश्मा यादव र विनिता पण्डित क्षेत्री छन् ।

पदाधिकारी अरविन्दकुमार झा, प्रशिक्षक हरिना थापा र निर्णायक नितु गुरुङ छन् । नेपालले १९ औँ एशियाडमा कास्य पदक जितेको थियो । सो एशियाडमा नेपाल समूह चरणमा इरानसँग र सेमिफाइनलमा भारतसँग हारेको थियो ।

सन् २००५ मा सुरु भएको एशियन च्याम्पियनशिपको ५ संस्करणमा भारत ४ पटक र दक्षिण कोरिया एक पटक च्याम्पियन भएका छन् ।

इरान २ पटक उपविजेता बन्दा जापान, थाइल्याण्ड र दक्षिण कोरिया पनि एक–एक पटक उपविजेता भएका छन् । पुरुषतर्फको एशियन च्याम्पियनशिपको पहिलो संस्करणमा नेपाली पुरुष टिम तेस्रो भएको थियो ।