खनिज सम्झौता गर्न जेलेन्स्की तयार, बेलायतले रूस–युक्रेन युद्धविराम प्रस्ताव तयार पार्ने

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको बताउनुभएको छ ।

बेलायतमा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनपछि जेलेन्स्कीले अमेरिकासँग दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको बताउनुभएको हो ।

सम्मेलनमा बेलायती प्रधानमन्त्री केयर स्टार्मरले युक्रेनमा शान्तिको ग्यारेन्टी गर्ने चार–चरण योजना सुनाएपछि जेलेन्स्कीको यस्तो प्रतिक्रिया आएको हो ।

स्टार्मरले फ्रान्स र अरु केही युरोपेली देशसँग मिलेर युक्रेन युद्धविरामसम्बन्धी प्रस्ताव तयार पारिने बताउनुभएको छ । यस प्रस्तावलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समक्ष राख्ने उहाँले बताउनुभएको बीबीसीले जनाएको छ ।

ह्वाइट हाउसको विवादित वार्तापछि युक्रेन युद्धबारे छलफल गर्न र युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन बेलायती प्रधानमन्त्री स्टारमरले युरोपेली देश तथा क्यानडाका नेताहरूको बैठक बोलाउनुभएको थियो ।

बैठकमा इटाली, फ्रान्स, जर्मनी र क्यानडाका राष्ट्रप्रमुख सहभागी भएका छन् । यस्तै नेदरल्यान्ड्स, डेनमार्क, नर्वे, पोल्यान्ड, स्पेन, फिनल्यान्ड, स्वीडेन, चेक रिपब्लिक र रोमानियाका नेतासमेत वैठकमा सहभागी भएका छन् । पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले बैठकमा सम्बोधन गर्दै युरोप ब्युँझिएको बताउनुभएको छ ।

यसैबीच बेलायत र युक्रेनबीच साढे दुई अर्ब पाउन्डको ऋण सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । युक्रेनले यो रकम सैन्य उपकरण खरिदमा प्रयोग गर्ने बताएको छ ।

यसअघि गएको शुक्रवार युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच चर्काचर्की भएपछि रुससँगको शान्ति सम्झौता र खनिज सम्झौताबारेको बैठक निष्कर्षविना टुङ्गिएको थियो