पश्चिम नेपाल भूकम्पबाट ३ वटा जिल्लामा अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरिने
काठमाण्डौ । पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्याङ्कन र पुनर्निर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ ।
सिंहदरबारमा आज बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशक समितिको बैठकले प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
बैठकपछि गृहमन्त्री रमेश लेखकले जाजरकोटमा केन्द्रविन्दु भएर अघिल्लो वर्ष कात्तिकमा गएको भूकम्पबाट निजी घरहरूमा भएको क्षतिको विस्तृत क्षति आँकलन गर्ने काम भइरहेको बताउनुभयो । उहाँले समन्वय सम्पर्क कार्यालय यही फागुन महिनाभित्र स्थापना गर्ने पनि जानकारी दिनुभयो ।
यस्तै बैठकले थप जनशक्ति तथा कार्यालय व्यवस्थापनका लागि आवश्यक बजेट स्वीकृत गरेको छ । त्यस्तै विपद्मा परेकाहरूको हवाई उद्धारमा लागेको भाडा विपद् कोषबाट भुक्तानी हुने भएको छ । बैठकले विपद् स्वयंसेवक परिचालन तालिम पाठ्यक्रम–२०८१ समेत स्वीकृत गरेको छ ।
रासस