
मेला, महोत्सवका नाममा सुर्तीजन्य वस्तुको विज्ञापन नगर्न मन्त्रालयको आग्रह
काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेला, महोत्सव तथा जात्राका नाममा सुर्तीजन्य वस्तुको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले विज्ञप्ति निकालेर केही मेला, महोत्सव र जात्रामा सुर्तीजन्य वस्तुको उत्पादक संलग्नता भएकोप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्ता मेला, महोत्सव र जात्रामा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गर्नुभएको हो ।
कानूनी व्यवस्था अनुसार सुर्तीजन्य वस्तुको विज्ञापन वा प्रायोजन गर्न पाइँदैन । यही कुरा स्मरण गराउँदै मन्त्रालयले कानून विपरीत सुर्तीजन्य वस्तुको विज्ञापन वा प्रवर्द्धन गरेको पाइएमा कानून बमोजिम कारबाही हुने जनाएको छ ।
मन्त्रालयले कहीँ कतै सुर्तीजन्य वस्तुको विज्ञापन वा त्यस्ता उत्पादकले प्रायोजन गरेको पाइएमा ‘हेलो स्वास्थ्य कल सेन्टर १११५’ जानकारी गराउन आग्रह गरेको छ ।