शेयर बजार आज पनि बढ्यो

काठमाण्डौ । शेयर बजार आज लगातार सातौं कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव १३ अङ्कले बढेर २ हजार ७ सय ६५ दशमलव ८८ विन्दुमा पुगेको छ । गएको फागुन ४ गतेयता शेयर बजार बढिरहेको छ ।

आज विकास बैंक, फाइनान्स, जलविद्युत्, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समूह बाहेक सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर झन्डै ३ प्रतिशतले उकालो लागेको छ ।

आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर भने झन्डै ९ प्रतिशतले घटेको छ ।

आज बजार बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ११ अर्ब ८ करोडको शेयर कारोबार भएकोमा आज ३ सय १२ वटा कम्पनीका १ करोड ७८ लाख कित्ता शेयर ९ अर्ब ९० करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको १ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भयो ।