
काठमाण्डौ महानगरद्वारा ७३ जना बालबालिकाको उद्धार
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षको अहिलेसम्ममा ७३ जना बालबालिकाको उद्धार गरेको छ ।
उद्धार गरिएकामा ४१ जना बालक र ३२ जना बालिका रहेका महानगरले जनाएको छ । उद्धार गरिएकामध्ये ३८ जना बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ भने ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । महानगरका अनुसार उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ ।
काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानूनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गर्नुभयो ।
उपमेयर डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गर्नुभयो ।