
२९औँ नेल्टा अन्तर्राष्ट्रिय सम्मेलन फागुन १५ मा आयोजना हुँदै, अङ्ग्रेजी भाषा शिक्षणमाथि १ हजार प्रतिनिधिले छलफल गर्ने
काठमाण्डौ । नेपाल लगायत २० वटा विभिन्न देशका एक हजार भाषा शिक्षक र विज्ञहरूको सहभागितमा नेल्टाको २९ औँ अन्तर्राष्ट्रिय सम्मेलन फागुन १५ गते काठमाण्डौमा सुरु हुँदैछ ।
नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा)को आयोजनामा ललितपुरको हात्तिवनस्थित लिटल एन्जेल्स स्कुलमा आयोजना हुने उक्त समारोहको उद्घाटन नेपाल सरकारका उप प्रधानमन्त्री प्रकाशमान सिंहले गर्नुहुनेछ ।
सम्मेलनबारे जानकारी दिन महाराजगञ्जस्थिति नेल्टा कार्यालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्राध्यापक डा. लक्ष्मण ज्ञवालीले २९ औँ नेल्टा सम्मेलनमा अङ्ग्रेजी भाषा शिक्षणमा नखोजिएका विषयहरूलाई प्राथमिकताका साथ उठाइने बताउनुभयो ।
अङ्ग्रेजी भाषा शिक्षणमा देखिएका चुनौती, अवसर र प्रविधीको प्रयोगका विषयमा विभिन्न देशका विशेषज्ञहरुले प्रस्तुति दिने नेल्टा अध्यक्ष लक्ष्मण ज्ञवालीले बताउनुभयो ।
“मेसिन, ह्यूमानटी एण्ड ल्याङ्गवेजः नेभिगेटिङ द अनचार्टड फ्रन्टाइर्स इन इएल्टी” विषयक उक्त २९ औँ नेल्टा अन्तर्राष्ट्रिय सम्मेलन यहि फागुन १५ देखि १७ गते (फेब्रुअरी २७ देखि मार्च १, २०२५) सम्म आयोजना हुनेछ ।
नेल्टा २९ औं अन्तराष्ट्रिय सम्मेलनमा नेपालका तर्फबाट प्रमुख वक्ताहरूमा प्राध्यापकहरू तीर्थराज खनिया, जयराज आचार्य, लक्मण ज्ञवाली रहनुहुने पत्रकार सम्मेलानमा जानकारी गराइएको छ ।
त्यसैगरी, प्राध्यापक मोतिकला सुब्बा देवान, डा. गङ्गाराम गौतम, डा. लव देव अवस्थी, डा. प्रेम प्रसाद पौडेल, डा. भीम गौतम लगायतले विभिन्न प्यानलमा छलफलमा प्रस्तुतिकरण गर्नुहुने छ । अध्यक्ष ज्ञवालीका अनुसार संयुक्त राज्य अमेरिकाका प्रतिनिधि डा. दयामुद्रा एन डेन्नेही, जापानका प्राध्यापक डा. रोबनर्ट स्ट्राउड, सिङ्गापुरका प्राध्यापक डा. एल्भिन पाङ, कोरयाका प्राध्यापक लिन्डसे एन होरोन र ईङ्गल्याण्डका निनाज इचापोरियाले अङ्ग्रेजी शिक्षा र व्यावहारिक भाषा विज्ञानका विविध विषयहरूमा प्रस्तुति र मन्तव्य राख्नुहुने कार्यक्रम तय भएको छ ।
यस्तै, नेल्टाको उद्देश्य आफुपनि सिकौँ र अरूलाई पनि सिकाँऊ भन्ने रहेको सङ्घका पूर्व अध्यक्ष हेमन्त राज दाहालले बताउनुभयो । उहाँले शिक्षा मन्त्रालय पुग्न नसकेको नेपालका हरेक क्षेत्रमा नेल्टाले सहयोग गर्ने र शिक्षक विद्यार्थीहरूमा अंग्रेजीभाषा, शिक्षण सिकाइको अपेक्षाकृत गुणस्तर हाँसील गर्नका लागि सहभागी हुने पनि बताउनुभयो ।
नेपाल सरकारको शिक्षा विज्ञान प्रविधि मन्त्रालय, यसको मातहतका निकाय र विश्व विद्यालयसँग यसले समन्वय गरेर प्रभावकारी बनाउन पाठ्यक्रम निमार्ण गर्न नेल्टा केन्द्रित रहेको उहाँको धारणा छ । पाठ्यपुस्तक र पाठ्यक्रमबिचको एकरूपता, परीक्षा प्रणालीहरू, कक्षाकोठा भित्र सिकाइका प्रक्रियाहरू समयसापेक्षीत भए नभएको पत्ता लगाइ, अहिलेको एआईले ल्याएका चुनौतीका विषयमा अध्ययन, अनुसन्धान र छलफल गरी नेपाल सरकारलाई नेल्टाले सहयोग गर्ने दाहालले बताउनुभयो ।
नेल्टा पूर्व अध्यक्ष मोतिकला सुब्बा देवानले अहिलेको सम्मेलनले संसारभरिको विद्वानहरूलाई नेपाल ल्याएर उहाँहरूको अनुभव आदानप्रदान गर्नाले देशको शिक्षालाई गुणस्तर बनाउन महतोपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेल्टा केन्द्रीय उपाध्यक्ष डा. भिमलाल गौतमले विश्वभरका विभिन्न संस्थाहरूमा काम गर्ने अङ्ग्रेजी शिक्षक र विषय विशेषज्ञहरूले साझेदारी, संगसंगै काम गर्ने अवसर र ठाउँ सिर्जना गरेमा यसले एक अर्कालाई फाइदा पुग्ने बताउनुभयो ।
नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) सन् १९९२ मा एक स्वैच्छिक, गैर–राजनीतिक, गैर–नाफामुखी संस्थाको रूपमा स्थापित भएको थियो । जसको मुख्य उद्देश्य दक्ष मानव संसाधनको विकास गर्नु र अङ्ग्रेजी शिक्षकहरू, अङ्ग्रेजी भाषा शिक्षण सम्बन्धी पेसाकर्मीहरू, अनुसन्धानकर्ताहरू र विद्यार्थीहरूलाई उनीहरूको निरन्तर व्यावसायिक उन्नतिको लागि सहयोग प्रदान गर्नु हो ।
सम्मेलनको प्रारम्भिक रूपरेखा
क) स्वदेश र विदेशका विज्ञहरूबाट भाषा, अङ्ग्रेजी शिक्षा र व्यावहारिक भाषा विज्ञानका विविध विषयहरूमा मुख्य टिप्पणीहरू र आमन्त्रित भाषणहरू
ख) केही उल्लेखनीय मुख्य वक्ताहरूः
प्राध्यापक तीर्थराज खनिया (नेपाल)
प्राध्यापक जयराज आचार्य (नेपाल)
प्राध्यापक लक्ष्मण ज्ञवाली (नेपाल)
डा. गङ्गाराम गौतम (नेपाल)
डा. दयामुद्रा एन डेन्नेही (संयुक्त राज्य अमेरिका)
नीनाज इचापोरिया (इङ्गल्यान्ड)
प्राध्यापक डा. एल्भिन पाङ (सिंगापुर)
प्राध्यापक डा. रोबर्ट स्ट्राउड (जापान)
प्राध्यापक लिन्डसे एन। हेरोन (कोरिया)
ग) संयुक्त र व्यक्तिगत प्रस्तुति र पोस्टर प्रदर्शन (अङ्ग्रेजी शिक्षा र व्यावहारिक भाषा विज्ञानका विभिन्न विषयवस्तु र क्षेत्रहरूमा लगभग १ सय ६० भन्दा बढी प्रस्तुतिहरू हुनेछन्)
विभिन्न विषयवस्तु र विषयहरूमा प्यानल र कार्यशालाहरूः
क) नेपाली सन्दर्भमा अङ्ग्रेजी शिक्षाबारे पुनर्विचारः नेपालमा भाषिक विविधताको बहुभाषिक व्यवस्थापन (मध्यस्थकर्ताः डा> भीम लाल गौतम)
डा. लव देव अवस्थी
डा. प्रेम प्रसाद पौडेल
प्राध्यापक मोतिकला सुब्बा देवान
ख) सङ्गोष्ठी र कविता सत्र
ग) सम्मेलन अवधिभर विभिन्न सङ्गोष्ठी र अन्तरक्रियात्मक अङ्ग्रेजी भाषा मेलाको साथै कविता वाचन लगायत गतिविधिहरू आयोजना गरिनेछ ।
घ) साथै सम्मेलनमा अक्सफोर्ड, राउटलेज, रेलो, ब्रिटिस काउन्सिल, युसेइफ आदि लगायत विभिन्न प्रकाशन र संस्थाहरूद्वारा पुस्तक मेला र अन्य भाषिक खेलहरू आयोजना गरिनेछ ।