इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरण: सशस्त्रकै इन्स्पेक्टर जोशी पक्राउ

काठमाण्डौ । सशस्त्र प्रहरी बल (एपीएफ)की इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन्। आत्महत्या दुरुत्साहन मुद्दा दायर भएपछि जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

गत शनिवार राति पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । महतलाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा उनीभन्दा सिनियर इन्स्पेक्टर जोशीविरुद्ध पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए । जोशीले सन्तोषीलाई आत्महत्या गर्न बाध्य पारेको परिवारको आरोप छ। सशस्त्र प्रहरी स्रोतका अनुसार उनीहरू प्रेम सम्बन्धमा थिए ।

घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । एकेडेमीका डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरिएको थियो ।

सिन्धुपाल्चोक घर भएकी महत यसै वर्ष निरीक्षकमा भर्ना भएर आधारभूत तालिम गरिरहेकी थिइन्। सन्तोषी जवानमा भर्ना भएर ९ वर्षदेखि सशस्त्रमै कार्यरत थिइन्। जवानमै हुँदा २०७८ सालमा असई बनेकी उनले २०८१ मा निरीक्षकमा नाम निकालेकी थिइन्।