
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा शोभायात्रा सम्पन्न
काठमाण्डौ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा निकालेको छ । पशुपतिनाथ मूल मन्दिरअघिको पश्चिम ढोकाबाट सुरू भएको शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्नुभएको हो ।
शोभायात्रा पश्चिम मूल ढोकाबाट भुवनेश्वरी चोक, चारशिवालय, पिङ्गलास्थान, गौशाला, जयवागेश्वरी, सिफल, लामपोखरी, चावहिल गणेशस्थान, चावहिलचोक, मित्रपार्क, उमाकुण्ड हुँदै भुवनेश्वरी चोकमा पुगेर समापन भएको छ ।
यसैबीच कोषले आउँदो बुधवार परेको महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनलाई व्यवस्थित गर्न मूल समारोह समिति र १० वटा उपसमिति गठन गरेको छ । महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति–२०८१ गठन गरेर त्यस मातहत रहने गरी १० वटा उपसमितिसमेत गठन गरिएको कोषले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
कोषले महाशिवरात्रिका लागि सबै तयारी पूरा भएको पनि जानकारी दिएको छ । महाशिवरात्रिमा नेपाल र भारतलगायत देशबाट साधुसन्त आउने क्रम चलिरहेको छ । साधुसन्तका लागि कोषले खानेरबस्ने सुविधाको व्यवस्था गरेको छ ।