सम्झौता अनुसार इजरायलले कैदी रिहा नगरेको भन्दै हमासले वार्ता रोक्यो

एजेन्सी । प्यालेस्टिनी विद्रोही समूह हमासका नेताले इजरायलसँग थप वार्ता नगर्ने बताएका छन् । हमासका दुई वरिष्ठ नेताले सम्झौता अनुसार ६ सय २० जना प्यालेस्टिनी कैदीको रिहाइ नहुँदासम्म वार्तामा सहभागी नहुने बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

अस्ति शनिवार हमासले ६ जना इजरायली कैदीलाई रिहा गरे पनि इजरायलले प्यालेस्टिनी कैदीहरूको रिहाइ स्थगित गरेपछि हमास नेताको यस्तो प्रतिक्रिया आएको हो । शनिवार नै इजरायलले ६ सय २० जना प्यालेस्टिनी कैदी रिहा गर्नुपर्ने थियो । इजरायलले कुनै पनि समयमा फेरि गाजा पट्टीमा आक्रमण गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै कैदी रिहाइमा ढिलाइ गरिरहेको खबरमा उल्लेख छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको यस निर्णयलाई अमेरिकाले पनि समर्थन गरेको छ । इजिप्ट र कतारले भने पहिलेकै सम्झौता अनुसार इजरायललाई ६ सय २० जना प्यालेस्टिनी कैदी तत्काल रिहा गर्न दबाव दिइरहेका छन् ।