
जापानका १७ प्रतिशत नागरिकसँग मात्रै राहदानी रहेको तथ्याङ्क
एजेन्सी । जापानका हरेक ६ जना नागरिकमध्ये एक जनासँग मात्रै वैध राहदानी रहेको सरकारको पछिल्लो तथ्याङ्कले देखाएको छ ।
यो सङ्ख्या राहदानी भएका अमेरिकीको आधाभन्दा निकै कम हो तर सन् १९९० को झन्डै ५ प्रतिशतबाट भने बढेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । छिमेकी देश दक्षिण कोरियामा यो सङ्ख्या ६० प्रतिशतको हाराहारीमा रहेको छ ।
सन् २०२४ को डिसेम्बरसम्ममा २ करोड १६ लाख वैध जापानी राहदानी प्रचलनमा रहेको र यो कुल जनसङ्ख्याको झन्डै १७ दशमलव ५ प्रतिशत रहेको जापानको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ महामारीअघि झन्डै एक चौथाइ जापानीसँग वैध राहदानी रहेको खबरमा उल्लेख छ । यसवर्षको हेन्ले पासपोर्ट इन्डेक्सका अनुसार सिङ्गापुरपछि दक्षिण कोरिया र जापानको राहदानी विश्वकै दोस्रो बलियो राहदानी हो ।
कोभिड–१९ महामारीकालको क्वरेण्टीन र सीमा नाका बन्द भएपछि जापानबाट बाहिरिने यात्रा क्रमशः पुनः शुरू भएको मन्त्रालयले जनाएको छ । तर विगत ५ वर्षमा आफ्नो मूल्यको एक तिहाइ हिस्सा गुमाइसकेको येनको कमजोरीले जापानी यात्रुलाई मुद्रास्फीति र आन्तरिक यात्रामा नयाँ चासोका कारण रोकेको विश्लेषकहरू बताउँछन् ।
सन् १९९० मा जापानबाट १ करोड जनाभन्दा धेरै मानिस विदेश गएका थिए भने महामारीअघि यो सङ्ख्या बढेर २ करोड पुगेको थियो । जापानको शीर्ष ट्राभल एजेन्सी जेटीबीका अनुसार यो वर्ष झन्डै एक करोड ४१ लाख जापानीले विदेश भ्रमण गर्ने अनुमान छ ।
अन्तिम अपडेटस् फागुन १०, २०८१