
स्ववियु चुनावको कार्यतालिका सार्वजनिक, २७ गते उम्मेदवारी दर्ता
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको कार्यतालिका सार्वजनिक गरेको छ ।
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले कार्यतालिका सार्वजनिक गरेको हो ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन यही फागुन २७ गतेका लागि तोकिएको बताउनुभयो ।
उहाँका अनुसार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता फागुन २७ गते बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ ।
यस्तै सङ्घ, सङ्गठन दर्ता यही फागुन १९ गते, मतदाता सूची प्रकाशन फागुन २१ गते, उम्मेदवारको दाबी विरोघ फागुन २८ गते र अन्तिम उम्मेदवारको नाम फागुन २९ गते प्रकाशित गर्ने कार्यतालिका छ । मतदान चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ ।
चुनावको लागि प्रचारप्रसारको समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म रहने र त्यसपछि मौन अवधि शुरू हुने निर्देशनालयका निर्देशक अधिकारीले जानकारी दिनुभयो ।
देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुन लागेको हो । चुनावमा २८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ ।