स्वास्थ्य मन्त्रालयद्वारा मिडिया ब्रिफिङ

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिडिया ब्रिफिङ सुरु गरेको छ । आज मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङ कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यसबारे जानकारी दिनुभएको हो ।

उहाँले मिडिया ब्रिफ्रिङमा मन्त्रालयले गरेका विविध नीतिगत निर्णय तथा स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण जानकारी दिने बताउनुभयो । उहाँले नेपालको संविधानले मौलिक हकको रुपमा सूचनाको हकलाई प्रत्याभूत गरेकाले सर्वसाधारणमा सहजरुपम सूचना पुर्‍याउन ब्रिफिङ सुरु गरेको बताउनुभयो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट गत एक हप्तामा भएका नीतिगत निर्णय, प्रमुख कार्यहरु तथा स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण सूचना तथा जानकारीहरु सर्वसाधारणमा सहजरुपमा प्राप्त होस् भन्ने उद्देश्यले साप्ताहिकरुपमा ब्रिफिङ गर्ने निर्णय गरिएको छ ।
नेपालको संविधानले मौलिक हकको रुपमा सूचनाको हक प्रत्याभुत गरेको हुनाले आम नागरिकलाई यस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेका निर्णयहरु चाहे त्यो नीतिगत होस् चाहे कार्यगत रुपमा होस् ती चिजहरु पनि आमनागरिकलाई जानकारी दिने यस मिडिया ब्रिफिङको प्रमुख उद्देश्य रहेको जानकारी दिनुभयो ।

प्रवक्ता डा। बुढाथोकीले सरकारले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सरको निवारण गर्ने लक्ष्य राखेकाले समयमै उपचार गर्न सकियो भने पाठेघरको मुखको क्यान्सर निको हुन्छ भने अभियान सञ्चालन गरेको बताउनुभयो । हालसम्म विभिन्न विधिबाट ९२ हजार २७३ महिलाले पाठेघरको मुखको क्यान्सर स्किनिङ गरेको उहाँको भनाइ छ । उहाँले ३० देखि ४९ वर्षका महिलाहरुले पाठेघरको मुखको क्यान्सरबाट बच्न स्किनिङ गराउन आग्रह गर्नुभयो । पाठेघरको मुखको क्यान्सरको स्किनिङ देशभर सञ्चालन भइरहेको उहाँको भनाइ छ ।

‘‘नेपाल सरकारले सन् २०३० सम्ममा पाठ्यघरको मुखको क्यान्सरलाई निवारण गर्ने लक्ष्य पनि लिएको छ । यही लक्ष्य अनुसार नेपाल सरकारले एचपीभी खोपसँग देशभरका ३० देखि ४९ वर्षसम्मका महिलाहरुका पाठेघरको मुखको क्यान्सर स्किनिङ कार्य एकसाथ देशभर सञ्चालन गरेको छ । यस आर्थिक वर्षको मध्यसम्ममा भीआइए विधिबाट ६० हजार ९ सय ३७ एपिबी डिएनए विधिबाट ९ हजार ९ सय २७ र प्याफ विधिबाट २१ हजार ४ सय ९ गरी जम्मा ९२ हजार २७३ जना महिलाहरुले पाठेघरको मुखको क्यान्सरको स्किनिङ गराउनुभएको जानकारी गराउनु भयो ।

यदि तपाई वा तपाईको परिवारमा पनि ३० देखि ४९ वर्षसम्मका महिला हुनुहुन्छ भने पाठेघरको मुखको क्यान्सरको स्किनिङ गराई यस रोगबाट बच्न र बचाउन र नेपाल सरकारको लक्ष्यलाई पूरा गर्न सहयोग गर्नुहुन अनुरोध गनुभयो । प्रवक्ता डा. बुढाथोकीले नसर्ने रोगका पहिचानका लागि फागुन महिनाभर एक महिने अभियान सञ्चालन भइरहेकाले मधुमेह, उच्च रक्तचाप, मिर्गौलारोगलगायत प्राणघात रोगबारे नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अर्धवार्षिक प्रगति समीक्षाअनुसार स्वास्थ्य मन्त्रालय ८१।८ अङ्कसहित तेस्रो स्थानमा रहेको जानकारी दिनुभयो ।