नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्ध छुट्टै ऐनको व्यवस्था गर्छौंः मन्त्री खड्का

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धमा छुट्टै ऐनको व्यवस्था गर्ने बताउनुभएको छ । आज काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकार स्वच्छ ऊर्जा रुपान्तरणसम्बन्धी लक्ष्य हासिल गर्न गम्भीर रहेको बताउनुभयो । उहाँले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक हालै राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेश भएको जानकारी दिनुभयो ।

मन्त्री खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक हालै राष्ट्रियसभाबाट पारित भई प्रतिनिधि सभामा पेश भएको र विधेयकलाई छिट्टै प्रतिनिधिसभाबाट पारित गराई ऐनको रुप दिने कार्य आफ्नो उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।

विधेयकले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र ऊर्जा रुपान्तरणको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई नयाँ सङ्गठनमा रुपान्तरण गर्न र नयाँ सन्दर्भमा यसको भूमिका सुनिश्चित गर्न ठोस कानुनी आधार स्थापना गर्न थप मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री खड्काले सरकारले आफ्ना नीति, रणनीति, योजना र लक्ष्यहरुमार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो । हालै मात्र स्वीकृत भएको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१ मा नेपालले अगाडि सारेका स्वच्छ ऊर्जा र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय लक्ष्यमा नवीकरणीय ऊर्जा दक्ष र स्वच्छ ऊर्जा रुपान्तरणलाई उच्च प्राथमिकता दिएको मन्त्री खड्काको दाबी छ ।

मन्त्री खड्काले सन् २०३५ सम्म जडित क्षमता २८ हजार ५ सय मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत वार्षिक १ हजार ५ सय युनिट पुर्‍याउने लक्ष्यसहित स्वीकृति मार्गचित्रमा राष्ट्रिय ग्रिड नपुगेका स्थानहरुमा अफ ग्रिड सौर्य, वायु तथा लघु जलविद्युतमार्फत आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत् पुर्‍याउने लक्ष्य मार्गचित्रले लिएको बताउनुभयो ।

उहाँले सन् २०४५ सम्म खुद शून्य उत्सर्जनसम्बन्धी दीर्घकालीन लक्ष्य दोस्रो राष्ट्रिय निर्धारित योगदान १६ औं योजनालगायतका राष्ट्रिय लक्ष्य एवम् अन्तर्राष्ट्रिय प्रतिबद्धतासँग सम्बन्धित रहेको बताउनुभयो ।