
मदन भण्डारी कलेज र सिन्धुपाल्चोक मेलम्चीका विद्यालयहरूबीच अन्तर्क्रिया सम्पन्न
सुप्रिया राई, सिन्धुपाल्चोक । मदन भण्डारी ममोरियल कलेजले सिन्धुपाल्चोक जिल्लाका सामुदायिक विद्यालयहरुसँग अन्तक्रिया गरेको छ ।
आइतबार जिल्लाको मेलम्ची नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा पुगी त्यहाँका प्रधानाध्यापक, शिक्षकहरू र विद्यार्थीहरुसँग शैक्षिक अनुभवको आदान प्रदान र वृहत्तर साथ, सहयोग गर्ने विषयमा अन्तक्रिया गरेको हो ।
कलेजले मेलम्ची नगरपालिकाका पाँचवटा सामूदायिक विद्यालयहरुमा शैक्षिक प्रगतिका कार्यक्रम सञ्चालन गर्ने र छात्रवृत्तिको व्यवस्था गर्ने विषयमा समेत विद्यालय परिवारलाई जानकारी गराएको थियो । भ्रमणमा सङ्लग्न मदन भण्डारी कलेजका शिक्षकहरूले सूचना प्रविधि, सञ्चार, वित्तीय साक्षरता, आइटीसंग सम्बन्धित प्रोगामिङ र गणीतीय अभ्यास लगायतका विषयहरूमा विशेष कक्षा समेत सञ्चालन गरेका थिए ।
सो अवसरमा मदन भण्डारी मेमोरियल कलेजका क्याम्पस प्रमुख डाक्टर बाबुराम अधिकारीले दुर्गम र सुगम दुवै भेगका समुदायमा शिक्षाको पहुँच समान हुनुपर्नेमा जोड दिनुभयो । अधिकारीले स्थानीयस्तरका विद्यालयहरूसँग सहकार्य गरी गुणस्तरीय अभिवृद्धि गराउन कलेज तत्पर रहेको बताउनुभयो । यसका लागि कलेजले आफ्नो सामाजिक दायित्व परिपूर्ती गर्न विद्यालयहरुमा शैक्षिक आदान प्रदानका लागि कार्यक्रमहरू सञ्चालन गर्ने, विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने, तालिम गोष्ठीको आयोजना गरी शिक्षामा नवप्रर्वतन गर्ने लक्ष्य लिएको बताउनुभयो ।
त्यस्तै, मदन भण्डारी मेमोरियल माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल न्यौपानेले विद्यालयले माध्यमिक तहमा देशभर उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताउनुभयो । साथै, विद्यालयमा सुविधा सम्पन्न कक्षा कोठा, प्रयोगशाला तथा सर्वसुलभ गुणस्तरीय शिक्षाको व्यवस्था रहेको उल्लेख गर्नुभयो ।
मेलम्ची नगरपालिका ६, तालामाराङस्थित श्री तेर्से माध्यमिक विद्यालयका शिक्षक राम भक्त दनुवारले विद्यार्थीहरुलाई शिक्षाको सरल र सुलभ पहुँचको सवालमा कलेजले देखाएको सक्रियताप्रति खुसी व्यक्त गर्नुभयो । यस किसिमको भेटघाटले भविष्यमा सहकार्यका निम्ति अनेक ढोका खोलेको उहाँले प्रतिकृया दिनुभयो ।
त्यसैगरी, मेलम्ची नगरपालिका ११, मेलम्ची टारस्थित श्री इन्द्रेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठसँगको भेटघाटमा दुइ संस्थाबीच विज्ञान, प्रविधी, चिकित्सा तथा पत्रकारिता विषयमा विद्यार्थीहरुलाई निःशुल्क तालिम प्रदान गर्ने विषयमा छलफल भएको छ ।
उक्त भेटघाटमा मदन भण्डारी कलेजका स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी विभागका प्रमुख फुलबाबु झाले कम्प्यूटर साइन्स र सिभिल इन्जिनियर सकांयका विद्यार्थीहरुसँग अन्तक्र्रिया गर्नुभयो ।
मेलम्ची नगरपालिका–९, ज्यामिरेस्थित श्री जनता माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक माधव अधिकारीले शैक्षिक विकासका लागि संस्थानहरूबीचको शैक्षिक आदानप्रदानमा सहकार्य गर्न सहमति जनाउनुभएको छ ।
विद्यालयले आईटी शिक्षा, कम्प्युटर तथा प्रविधिसम्बन्धी ज्ञान, र पत्रकारिता शिक्षाको प्रवर्धनलाई प्रभावकारी बनाउन मदन भण्डारी कलेजसंगको संस्थागत सहकार्य र योगदानमार्फत अघि बढ्ने जनाएको छ ।
त्यस्तै, मेलम्ची नगरपालिका १२, बाहुनीपाटीस्थित जालपादेवी कृषि प्राविधिक विद्यालयका हेड टिचर इन्द्र प्रसाद दुलालले विद्यालयमा विद्यार्थीहरूको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसलाई रोक्नका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
उहाँले मदन भण्डारी कलेजले आफ्ना विद्यार्थीहरुलाई छात्रवृत्ति र आईटी सम्बन्धी तालिम प्रदान गर्नका लागि सहकार्य गर्ने प्रतिवद्धतामा खुशी व्यक्त गर्नुभयो ।
मेलम्ची नगरपालिका १३, फटकशिलास्थित श्री कालिकाचेतना माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडा प्रसाद ढकालले शिक्षा र विद्यार्थीहरुसँग सम्बन्धित हरेक गतिविधीलाई स्वागत गर्ने बताउनुभयो । साथै छात्रवृत्ति प्रदान गर्ने विषयमा पनि दुवै संस्था सकारात्मक रहेकाले दुइपक्षीय विकासका लागि सहयोग हुनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।
कलेजका प्रमुख डाक्टर बाबुराम अधिकारीको नेतृत्वको सो भ्रमण टोलीमा मदन भण्डारी मेमोरियल विद्यालयका प्रिन्सिपल कमल न्यौपाने, स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी विभागका प्रमुख फुलबाबु झा, अनुशासन अनुशासन इञ्चार्ज र विद्यार्थीहरू गरी ७ जनाको सहभागिता रहेको थियो । भ्रमण टोलीलाई हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र वडा अध्यक्षहरूले स्वागत गर्नुभएको थियो ।
गाउँपालिकाको सहयोगमा शनिबार मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुर्विज्ञान संस्थान र अन्नपूर्ण टाइम्सको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।