
विद्यार्थी बोकेका बस दुर्घटनामा पर्न थालेपछि निगरानी अभियान सुरू
काठमाण्डौ । विद्यार्थी बोकेका गाडी दुर्घटनामा पर्न थालेपछि काठमाण्डौ उपत्यकामा विद्यालय बसको निगरानी बढेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यालयका बसमाथि निगरानी बढाउँदै विशेष जाँच अभियान थालेको हो ।
कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेले अघिपछि पनि निगरानी भइरहेको तर काठमाण्डौमा लगातार दुर्घटना भएपछि निगरानी थप बढाएको बताउनुभयो ।
उहाँका अनुसार चालकले जाँड–रक्सी खाएर विद्यालय बस चलाएको भेटिएको छ । उहाँले प्रहरीले मात्रै निगरानी गरेर नहुने हुँदा स्वयम् विद्यालय सञ्चालक तथा शिक्षकले पनि ध्यान दिनु जरुरी रहेको बताउनुभयो । वनभोज खान जाँदा जाँड–रक्सी खाएको हुनसक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिन उहाँले विद्यालय सञ्चालकलाई आग्रह गर्नुभयो ।
काठमाण्डौको दक्षिणकालीमा गएको माघ २७ गते जुनकिरी स्कूलको बस दुर्घटना हुँदा चालकसहित दुई जनाको ज्यान गएको थियो । यस्तै काठमाण्डौको शङ्खरापुरमा माघ ३० गते वनभोजबाट फर्कँदै गरेको सत्यसाई स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीन जना विद्यार्थीको ज्यान गएको थियो । ती दुर्घटनामा ५० जनाभन्दा धेरै विद्यार्थी घाइते भएका छन् ।
यी दुर्घटनापछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्कूल बस निर्देशिका २०७४ लाई पूर्ण पालना गराउन आग्रह गरेको छ ।