केआईआईटी विश्वविद्यालयका २ जना सुरक्षाकर्मी बर्खास्त, अनुसन्धानका लागि ३ जना निलम्बनमा

काठमाण्डौ । भारतको ओडिशामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले २ जना सुरक्षाकर्मीलाई बर्खास्त गरेको जनाएको छ ।

केआईआईटीले विज्ञप्ति निकालेर दुई जना सुरक्षाकर्मीलाई बर्खास्त गरेको तथा होस्टलका २ जना वरिष्ठ अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का १ जना वरिष्ठ प्रशासनिक अधिकारीलाई घटनाको विस्तृत अनुसन्धानका लागि निलम्बन गरेको जानकारी दिएको हो । कर्मचारीहरूले विद्यार्थीहरूलाई जतिसक्दो चाँडो क्याम्पसमा फर्काउन प्रयास गरिरहेका पनि विज्ञप्तिमा उल्लेख छ ।

केआईआईटी विश्वविद्यालयमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल गएको आइतबार होस्टेलमा मृत फेला परेकी थिइन् । लम्साल मृत फेला परेको घटनालाई लिएर नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेपछि विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई अस्थायी प्रतिबन्ध लगाएको थियो । अहिले विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई फर्कन आग्रह गरेको हो ।