ओडिसाको कलेजबाट जबरजस्ति निकालिए नेपाली विद्यार्थी, ट्रेन स्टेसनमा अलपत्र

काठमाण्डौ । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा नेपालकी छात्रा मृत भेटिएपछि नेपाली विद्यार्थीहरु लखेटिएका छन् । उक्त कलेजले नेपाली विद्यार्थीलाई राम्ररी सामान प्याक गर्न पनि नदिइकन जबरजस्ति बसमा हालेर रेल्वे स्टेसनमा छोडिदिएको छ ।

नेपाली छात्राको शंकाष्पद मृत्युलाई लिएर विद्यार्थीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका थिए । तर, कलेजले विद्यार्थीहरुलाई होस्टेल छोड्न चेतावनी दिएको थियो ।

त्यसअघि कलेजका शिक्षिकाहरुले नेपाली विद्यार्थीहरुलाई धम्क्याएको भिडिओ पनि सार्वजनिक भएको छ ।

डीएनए इन्डियान्यूजले हालेको एउटा भिडिओमा विद्यार्थीहरुलाई उनीहरुका लगेजसहित गाडीमा ओसारिएको देखिन्छ । एक विद्यार्थीले सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरु बिचल्लीमा रहेको बताउनुभयो ।

विद्यार्थीहरुले रातिदेखि केही नखाएको र साथमा पैसा पनि नभएको बातएको छन् । ट्रेन कति बेला आउँछ थाहा नभएको र उनीहरु अलपत्र परेका छन् ।