
लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला : राष्ट्रपति पौडेल
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला भएको बताउनुभएको छ । आज काठमाण्डौमा पाँचौं ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले कानून व्यवसायीहरु विधिको शासनको पहरेदार र लोकतन्त्रको रक्षक भएको बताउनुभयो ।
कार्यक्रममा उहाँले जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक प्रकोप, जैविक विविधताको क्षति र कृषिमा आधारित जीविकोपार्जनमा समेत खतराहरु बढ्दै गएको समेत बताउनुभएको छ । पछिल्लो समयमा जलवायु परिवर्तनका कारण नेपाली समुदायमा गहिरो प्रभाव परेको बताउनुभयो । उहाँले विकसित देशहरुको कार्यबाट उत्पन्न वातावरणीय ह्रासको परिणाम नेपालले भोग्नु परिरहेको उल्लेख गर्नुभयो ।
नेपालले विकसित देशले गरेको अन्यायलाई सम्बोधन गर्न र दिगो तथा समतामुलक भविष्यतर्फ काम गर्न ल एशिया र अन्तर्राष्ट्रिय समुदायबाट समेत जलवायु न्यायका लागि एउटा सशक्त न्यायको अपेक्षा गरेको राष्ट्रपति पौडेलको भनाइ छ ।