खाजाघर आगलागी, मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

काठमाण्डौ । कमलपोखरीस्थित शानदार मःमः पसलमा गत माघ २३ गते ग्यास लिक भइ आगलागी हुँदा घाइते भएका थप १ जनाको मृत्यु भएको छ ।

आगलागीमा परी घाइते भइ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाण्डौ कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिनुभयो ।

आगलागीमा परी घाइते भएका लामाको गएराति मृत्यु भएको छ । हाल ७ जनाको उपचार भइरहेको उहाँले बातउनुभयो ।

यसअघि उदयपुरको उदयपुरगढी–७ घर भइ हाल काठमाण्डौ बस्ने २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगरको उपचारका क्रममा मृत्यु भइसकेको छ ।