
सरकारले ल्याएको अध्यादेश पारित हुन्छ : सञ्चारमन्त्री गुरुङ
दोलखा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने दाबी गर्नु भएको छ ।
सदरमुकाम चरीकोटमा शनिबार नेकपा (एमाले) जिल्ला कमिटी दोलखाले आयोजना गरेको नेता तथा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सरकारको बहुमतले अनुमोदन गर्न सक्ने भए तापनि सबैको सहमतिमै अध्यादेशहरू पारित हुने दाबी गर्नुभयो ।
वर्तमान सरकारले ल्याएका अध्यादेशहरू लोककल्याणकारी भएकाले पारित हुने दशकौँका पुराना कानुनहरूले अहिलेको परिस्थिति अनुसार काम गर्न जटिल भएकाले पनि नयाँ कानुनका लागि अध्यादेश ल्याइएको उहाँले बातउनुभयो । सूचना प्रविधि, शिक्षा, सुशासन तथा सहकारीका क्षेत्रमा सुधार गर्नु अहिलेको जल्दोबल्दो आवश्यक देखिएको र यो अध्यादेशले यी समस्याहरूलाई हटाएर जनभावनानुसार काम गर्न सकिन्छ र देशमा समृद्धि आउँने बातउनुभयो ।
अध्यादेशको उद्योग व्यावसायीले समेत उत्साही देखाएका छन् । अनलाइन तथा सहकारी समेतमा देखिएको समस्यालाई नियमन गर्न अध्यादेश आएका छन् । सुशासनको प्रत्याभूति जनताले पाउनुपर्छ । अर्थतन्त्र दरो नभए देशमा समृद्धि आउन नसक्ने भएकाले पनि समय सापेक्षका लागि अध्यादेश अपरिहार्य रहेको उहाँको भनाइ छ ।
देशमा लोकतन्त्र गणतन्त्र आएता पनि जनताको पक्षमा खासै काम हुन नसकेकाले गठबन्धन गर्नु परेको उहाँले बताउनुभयो। अन्य दलहरूको सहयोग रहेता पनि राजा हटाउने, नयाँ संविधान जारी गर्नेलगायतका कामहरू नेपाली कांग्रेस र एमालेकै अगुवाइमा भएका हुन् ।
राजनीति स्थिरता आउन नसक्दा अवसरवाद मौलाएर पत्रकारितामा पनि असर पर्न गयो र सबैतर्फ भताभुङ्ग हुन पुगेको मात्र नभएर लोकतन्त्रमाथि नै खतरा भएको उहाँले बताउनुभयो । अहिले सरकारले ११ वटा कानुन बनाउनुपर्ने उहाँले बताउनुभयो ।