![](https://radioshwetashardul.org/wp-content/uploads/2025/02/online-fraud-cyber-techpana_nv45Vqan60.jpg)
६ महिनामै अनलाइन ठगीका १० हजारभन्दा धेरै उजुरी
काठमाण्डौ । नेपालमा पछिल्लो ६ महिनामा अनलाइन ठगीका १० हजार ७ सय वटाभन्दा धेरै उजुरी दर्ता भएका छन् । साउनदेखि पुस मसान्तसम्म दर्ता भएका उजुरीमा ६२ करोड रुपैयाँभन्दा धेरै ठगी दाबी भएको नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क छ ।
साइबर ठगीसम्बन्धी घटनाहरू साइबर ब्युरोमै दर्ता गर्नुपर्ने भएकोले सानातिना ठगीका घटनाहरू प्रहरीसम्म पुग्दैनन् । अघिल्लो आर्थिक वर्षमा अनलाइन ठगीका १९ हजार सात सय ३० वटा उजुरी दर्ता भएका थिए । सबैजसो ठगीको शुरुआत सामाजिक सञ्जालबाट भएको पाइएको ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपकराज अवस्थी बताउनुहुन्छ ।
धेरैजसो घटना सामाजिक सञ्जालमा राखेका विज्ञापनमा लोभिएर हुन्छ । कतिपयले भाइबर, ह्वाट्सएप लगायतमा सन्देश पठाएर ठगी गर्छन् । साइबर ब्युरोको तथ्याङ्कानुसार चिट्ठा वा उपहारको बहानामा हुने ठगी धेरै छ ।
यस्तै भाडामा सस्तो मूल्यमा कोठा वा फ्ल्याट दिलाइदिन्छु भन्दै रकम लिएर सम्पर्कविहीन हुने घटना पनि धेरै छ । अनलाइनमार्फत सामान खरिद गर्दा अग्रिम भुक्तानी गर्न लगाउने र रकम पाएपछि सम्पर्कविहीन भएका घटना पनि छन् । अनलाइन किनमेलमा कतिपयले नागरिकता लगायतका कागजपत्र मागेर पछि दुरुपयोग गरेको पनि पाइन्छ ।
यस्तै आफ्नो सम्पत्ति सम्हाल्ने कोही पनि नभएको भन्दै उत्तराधिकारी बन्न आग्रह गर्ने र कर वा खर्च भन्दै रकम लिएर सम्पर्कविहीन हुने घटना पनि छन् । कतिपयले आकर्षक रोजगारीको प्रलोभन देखाएर रकम ठगेका पाइन्छ । ुवान टाइम पासवर्डु ९ओटीपी० मागेर बैंक खाता वा मोबाइल वालेट ह्याक गरेर ठग्ने घटना पनि भएका छन् ।
महिलाको आकर्षक तस्वीर प्रयोग गरेका ह्वाट्सएपबाट भिडिओ कल गरी अन्तरङ्ग तस्वीर वा भिडियो लिएर साथी वा आफन्तलाई पठाउने धम्की दिएर पैसा असूल्ने घटना पनि उत्तिकै हुने गरेका छन् ।
यस्ता ठगीबाट बच्न आफू सचेत हुनु नै सबैभन्दा उत्तम उपाय रहेको प्रहरीको भनाइ छ ।