अमेरिकामा काम गुमाएका नेपाली विद्यार्थीलाई राहत वितरण सुरू

एजेन्सी । नेपाली सामाजिक अभियानकर्मीले अमेरिकामा काम गुमाएका नेपाली विद्यार्थीहरूका लागि खाद्यान्न सङ्कलन र वितरण कार्य सुरू गरेका छन् ।टेक्सस राज्यका विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीहरूलाई खाद्यान्न सहयोग गर्न सहयोग सङ्कलनसहित वितरण थालेको नेपाली समाज टेक्ससका महासचिव विजय भुसालले जानकारी दिनुभयो ।

झन्डै तीन हजार जना नेपाली विद्यार्थी कामविहीन भएको अनुमान छ । उनीहरूलाई कम्तीमा एक महिनाका लागि आवश्यक पर्ने चामल, दाल, तेल, नुन, चनालगायतका खाद्यान्न सामग्री उपलब्ध गराउन लागेको भुसालले बताउनुभयो । सात सय जनाभन्दा धेरै विद्यार्थीले खाद्यान्न लगिसकेका छन् । समाजले गाडी नभएका विद्यार्थीहरूको ठेगानामै राहत पुर्‍याउने व्यवस्था गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानूनी आप्रवासीलाई निष्काशन गर्ने योजनालाई कडाइका साथ कार्यान्वयनमा ल्याएपछि त्यसको प्रत्यक्ष असर नेपाली विद्यार्थीहरूमा पनि परेको छ । गैरकानूनी आप्रवासीको खोजी गर्ने क्रममा प्रहरीले दैनिक हजारौं व्यावसायिक फर्ममा छापा मारिरहेको छ ।

गैरआवासीय नेपाली सङ्घ अमेरिकाको तथ्याङ्कानुसार अहिले अमेरिकाका विभिन्न विश्वविद्यालयमा झन्डै ५० हजार जना नेपाली विद्यार्थी अध्ययनरत छन् ।