अमेरिकामा डीभी कार्यक्रम अन्त्य गर्ने तयारी सुरू

एजेन्सी । अमेरिकाको संसद्मा डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्रामु अर्थात् (डीभी) अन्त्य गर्नेसम्बन्धी ऐन प्रस्तुत भएको छ । रिपब्लिकन प्रतिनिधि माइक कोलिन्सले अमेरिकाको सुरक्षा र निष्पक्षता सुधार्ने ऐन २०२५ संसद्मा प्रस्तुत गर्नुभएको र यसको उद्देश्य भिसा लट्री अन्त्य गर्नु रहेको अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजले जनाएको छ ।

रिपब्लिकन सांसदहरूले डीभी लट्री कार्यक्रम अन्त्य गर्ने तयारीसहित ऐन प्रस्तुत गरेका हुन् । सांसदहरूले कम्प्युटर कोडका आधारमा भिसा वितरण गर्दा राष्ट्रिय सुरक्षालाई कमजोर पारिररहेको तर्क गरेका छन् ।

अमेरिकी विदेश विभागले सञ्चालन गरिरहेको डीभी प्रोग्रामले वार्षिक झन्डै ५५ हजार जना आप्रवासीलाई ‘ग्रीन कार्ड’ दिन्छ । आप्रवासी छनोट गर्दा योग्यतामा आधारित हुनुपर्नेमा कोडमा आधारमा हुँदा राष्ट्रिय सुरक्षा चिन्ता बढाउने संसादहरूको भनाइ छ । भिसा लट्री समाप्त गर्ने विधेयकले अमेरिकाको बिग्रिएको अध्यागमन प्रणालीलाई सुधार गर्ने संसद्मा पेश भएको ऐनमा उल्लेख छ ।

अमेरिकामा यसअघि पनि डीभी भिसा कार्यक्रमलाई लिएर आलोचना हुने गरेको छ । संसद्मा रिपब्लिकनको बहुमत रहेको र पार्टीबाट राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले पनि आप्रवासी नीतिमा कडाइ गरिरहनुभएकोले ऐन पारित भएर डीभी कार्यक्रम रोकिने सम्भावना रहेको फक्स न्यूजले उल्लेख गरेको छ ।