![](https://radioshwetashardul.org/wp-content/uploads/2025/02/pics_zfd93qfxDD.jpg)
काठमाण्डौ महानगरमा नयाँ जनप्रतिनिधि आएपछि १ सय १६ वटा न्यायिक सुनुवाइ
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले नयाँ जनप्रतिनिधिको कार्यकालमा अहिलेसम्म १ सय १६ वटा न्यायिक सुनुवाइ गरेको छ । मेयरमा बालेन्द्र शाह र उपमेयरमा सुनिता डङ्गोललगायतको टोली निर्वाचित भएपछि १ सय १६ वटा न्यायिक सुनुवाइ गरेको महानगरले सार्वजनिक गरेको ‘न्यायिक समिति स् दिग्दर्शन’ नामक पुस्तकमा उल्लेख छ ।
पुस्तकमा उल्लेख विवरणा अनुसार मेयरको इजलासले हेर्ने ३ सय ६ वटा विवाद समाधानका लागि ३३ वटा सुनुवाइ भएको छ । जसमा १ सय ७४ वटा विवादमा निर्णय भएको छ भने ६५ वटा विवाद तामेलीमा राखिएको छ । ६ वटामा मिलापत्र भएको छ । मेयरको इजलासबाट भवन निर्माणको मापदण्डका विवाद हेर्ने व्यवस्था छ ।
यस्तै उपमेयरको नेतृत्वमा हुने महानगरपालिकाको न्यायिक समितिबाट अहिलेसम्ममा ८३ पटक सुनवाइ गरी न्याय निरूपण भएको छ । ६ सय ८ वटा विवाद निरूपण हुँदा ३ सय २६ वटा विवादमा निर्णय भएको छ । १ सय ४१ वटा विवाद मेलमिलापको माध्यमबाट समाधान भएको छ । १ सय ३२ वटा निर्णयमाथि पुनरावेदन परेकोमा १५ वटा विवाद पुनरावेदन तहबाट टुङ्गिएका छन् । १३ वटा न्यायिक समितिको निर्णय पुनरावेदन तहबाट सदर भएको छ ।
यसैबीच महानगरपालिकाले अहिलेसम्म ५२ हजार ७ सय ४० जना सेवाग्राहीलाई निःशुल्क कानूनी सेवा प्रदान गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि माघसम्म मात्र ६ हजार ८ सय ४७ जनाले सेवा प्राप्त गरेको पुस्तकमा उल्लेख छ ।