
मदन भण्डारी कलेजले हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ गर्दै
काठमाण्डौ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुने भएको छ ।
आराम, आनन्द र आरोग्य भन्ने मूल नाराका साथ फागुन ३ गते हेलम्बु गाउँपालिकाको सहयोग तथा मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुर्विज्ञान संस्थान र अन्नपूर्ण टाइम्सको संयुक्त आयोजनामा स्वास्थ्य शिविर हुन लागेको हो ।
हेलम्बु ७, महाङ्कालस्थित स्वास्थ्य चौकीमा हुने शिविरका लागि काठमाडौंबाट १० बीएएमएस तथा एक विशेषज्ञ चिकित्सक र एक जना फिजियोथेरापिस्ट जाने कार्यक्रम संयोजक डा.सुष्मा साउदले जानकारी दिनु भयो ।
शिविरमा सामान्य स्वास्थ्य जाँचदेखि विभिन्न रोग, जस्तै हाडजोर्नी, नशा, पेटसम्बन्धी समस्या, ग्यास्ट्रिक, पायल्स, फिसर, फिस्टुला, महिनावारी गडबडीलगायत समस्याको परीक्षण, उपचार तथा परामर्श प्रदान गरिने मदन भण्डारी मेमोरियल कलेज प्रमुख डा.बाबुराम अधिकारीले बताउनु भयो ।
यस्तै जटिल किसिमका रोगका लागि अस्पताल तथा उपचार विधिबारे परामर्श प्रदान गरिने छ । स्वास्थ्य शिविरबाट उपलब्ध गराइने सम्पूर्ण सेवा तथा औषधिहरू निशुल्क हुनेछन् । एक दिने शिविरमा ५ सय जनालाई सेवा दिने लक्ष्य राखिएको छ । शिविरबाट लाभान्वित हुन हेलम्बु गाउँपालिकाले प्रत्येक वडाका बासिन्दालाई सूचित गराइरहेको जनाएको छ ।